शिक्षा मन्त्रालयको समीक्षा बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न(तीन बुँदे निर्णयसहित)

काठमाडौं,बैशाख ३। शिक्षा मन्त्रालयले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहले गरेका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। मन्त्रालयले स्थानीय तहबाट विद्यालय बन्द गर्न गरिएको निर्णय पनि कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।

 

शिक्षा मन्त्रालयले गरेको वर्तमान अवस्थाको समीक्षा बैठकले थप सजगता अपनाउन अनुरोध पनि गरेको छ। यस्तै स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्डको पालन गर्न अनुरोध गरिएको छ। शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझाइएको छ।

शिक्षा मन्त्रालयको समीक्षा बैठकले गरेका निर्णय

१- सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु हुन ।

 

२- शिक्षण संस्थाहरू सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइ सम्बन्धित संस्थाले सिकाई कृयाकलाप सचालन गर्ने व्यवस्था मिलाउनु हुन।

 

तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्नु, नगराउनु हुनका साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्नुहुन ।

 

३- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिए बमोजिम संचालन गर्नुहुन र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रकृयाहरूको पालना गर्नुहुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएकोअवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम, सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिनुहुन।

दीपक शर्मा सहसचिव एवम् प्रवक्ता