सिड्नी सहरमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९०) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन ।

 

बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ । न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण संक्रमण बढिरहेको बताएका छन् । मानिसहरुलाई मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।

 

‘यो लकडाउनले काम गर्न हामी सबैले आफ्नो चहलपहल रोक्नुपर्छ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले भनिन् । बिहीबार न्यु साउथ वेल्समा पछिल्लो १४ महिनायताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।

 

प्रिमियर बेरेजिक्लियानले मानिसहरुलाई आफ्नो परिवारभन्दा बाहिरका मानिसलाई घरमा नै गएर भेट्ने काम बन्द गर्न आग्रह गरेकी छिन् । त्यस्तै कोरोनाको लक्षण देखिएका मानिसहरु समुदायमा हिँडिरहेकाले पनि संक्रमण फैलिएको उनको भनाइ छ ।