राष्ट्र बैंकसहित यी १५ बैंक ह्याक गर्ने चेतावनी

काठमाडौ।नेपाल राष्ट्र बैंकसहित विभिन्न १५ बैंकका सिस्टम ह्याक गर्ने चेतावनी दिईएको छ । ह्याकरले नेपाल राष्ट्र बैंक सहित अन्य बैंकका उच्च अधिकारीलाई चेतावनीसहितको पत्र समेत पठाएको बुझिएको छ ।

 

 

उक्त पत्र राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितलाई पुगेको बताईन्छ । परिचित फोन र इमेलबाट यस्तो चेतावनीसहितको पत्र आएको हो।

 

 

बुधबार आएको पत्रमा नेपालका १५ बैंकको सिस्टम ह्याक गर्ने र यसलाई हल्का रुपमा नलिन चेतावनी दिइएको छ। ह्याकरले पत्रमार्फत यदि ठूलो क्षतिलाई रोक्न चाहे बिहीबारदेखि ४८ घण्टासम्म सबै शाखा बन्द गर्न भनेको छ।

 

 

ह्याकरले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गर्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो।

 

 

 

प्रवक्ता ढकालले यसबारे सबै बैंक तथा सरोकारवालालाई सूचना दिइसकिएको भन्दै आफूहरुले सुक्ष्म रुपमा यसमा अनुसन्धान गरिरहेको बताएका छन्। उनले अहिलेसम्म सिस्टममा कुनै पनि ठाउँबाट संकास्पद त्यस्ता गतिविधि नभएको बताए।

 

 

‘हामीले यसबारे बैंक तथा सरोकारवाला पक्षलाई जानकारी दिइसकेका छौं। सुक्ष्म रुपमा अनुसन्धान पनि थालेका छौं। अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन। डराउनुपर्ने आवश्यकता छैन’, प्रवक्ता ढकालले भने।