सङ्खुवासभा हत्या प्रकरण : ६ जनाको हत्याका आरोपी आज सार्वजनिक गरिँदै

काडमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपीलाई आज सार्वजनिक गरिँदै छ ।

 

 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

 

 

 

इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

 

 

 

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।