हत्या आरोपीलाई बचाउन स्थानीयले गरे प्रहरीमाथि हमला

काठमाडौं। पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो।

 

 

लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।

 

झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

 

 

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए ।

 

 

 

हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ ।

 

 

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।