दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने

सांकेतिक तस्विर

काठमाडौं। कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ ।

 

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

 

 

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।

 

 

“कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,” उनले भने, “त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ ।

 

 

कुकुर बिरालो मानिसका साथी भएकाले यिनीहरुलाई माया गर्नुपर्ने र वर्षको एकपटक सामुदायिक र घरपालुवा कुकुर, बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

 

 

रेबिज रोगको लक्षण देखापरिसकेपछि कुनै उपचार नभएको र मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ गर्न नहुने पशु प्राविधिकको भनाइ छ ।

 

रेबिजविरुद्ध खोप अभियान

 

तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो ।

 

 

अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ ।

 

 

अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको श्रेष्ठले बताए ।

 

 

उनका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ । ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

 

 

त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताए ।

 

 

नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ । बर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ ।