बाढी–पहिरोले कुन जिल्लामा कति क्षति (विवरण सहित)

काठमाडौं। सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएको प्रहरीको तथ्याङक छ ।

 

बाढी पहिरोकै कारण सयौं मानिस विस्थापित बनेका छन्, करोडौ बढीको धनमालमा क्षति पुर्याएको छ ।

 

तराई क्षेत्रमा भएको डुवानका कारण उडाउन लागेको धानवाली र अन्यवाली नष्ट पारेको छ ।

 

बाढी–पहिरोले मंगलबारसाँझसम्म देशैभर भएको क्षतिको विवरणः

 

प्रदेश नम्बर- १ 

बाढीका कारण झापामा ४० घर डुबानमा परेका छन् । कनकाई नदीमा आएको बाढी पस्दा दक्षिण झापाको गौरीगञ्‍ज गाउँपालिकाको एउटा बस्ती नै डुबेको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्‍ज १ जोडा होकलबाडीका ४० घर डुबानमा परेका हुन् । प्रहरीका अनुसार स्थानीयले प्रयोग गर्ने एउटा नाउसमेत खोलाले बगाएपछि उद्वारमा समस्या भएको छ ।

 

दावाँबाट कनकाई खोलाको बाढी पसेपछि उक्त बस्ती टापु जस्तै बनेको प्रहरीले जनाएको छ ।

 

 

यता सुनसरीको धरानमा पहिरोले घर भत्किँदा एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका– १३ स्थित नागेश्वर मार्गमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको हो ।

 

 

धरानस्थित संघीय प्रहरी इकाइ कार्यालयका एसपी भीम दाहालका अनुसार निशान राईको ४ वर्षीय छोरा निहान राई र ७ वर्षीया छोरी निशु राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

 

 

 

बाढीका कारण कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । उदयपुरमा भने बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

 

 

अविरल वर्षाले धनकुटाको पाख्रीवास नगरपालिका ५ डिकुरेमा पहिरो झरेर मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

 

 

धनकुटा नगरपालिका ४ सल्लेरीमा पनि सल्लाको रुख ढलेर सडक अवरुद्ध भएको बताइएको छ । मोरङ लगायतका जिल्लामा वर्षाले ठूलो मात्रामा धान नष्ट गरेको छ ।

 

प्रदेश नम्बर- २

जनकपुर वर्षाले जनकपुरको नगर क्षेत्र जलमग्न भएको छ । वर्षाको पानी घर तथा पसलमा छिर्दा करोडौं मूल्य बराबरको धनको क्षति भएको छ ।

 

 

मंगलबार बिहान झन्डै चार घण्टा मुसलधारे वर्षा भएपछि नगर क्षेत्रमा एसियन विकास बैंकको सहयोगमा निर्मित ढलबाट पानी बग्न नसक्दा घर घरमा पानी पसेको थियो ।

 

 

जनकपुर– २ को गिरिजा सिनेमा हल , किशोरी नगर, भानु चोक,शिव चोक, वडा नम्बर ४ को राराब क्याम्पस जाने बाटो, एसएसपी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय भित्र पानी छिरेको थियो भन्ने शिव चोकमा रहेको एक दर्जन अधिक पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्य बराबरको लत्ताकपडा,इलेक्ट्रोनिक्स सामान बिग्रेको थियो ।

 

 

 

शिव चोकस्थित अनित इम्पोरियमका सञ्चालक गुडु सुल्तानियाका अनुसार उनको तथा उनका काका पशुपति सुल्तानियाको इलेक्ट्रोनिक्स पसल तथा गोदाममा पानी छिर्दा लाखौँ मूल्य बरावरको वासिंग मेसिन, टेलिभिजन, एसीलगायतका सर सामान नष्ट भएको छ ।

 

 

यसै गरी शिव चोकमै अवस्थित नवरङ होटेलभित्र पानी छिर्दा सेवाका लागी प्रयोगमा रहेको अनेकौँ फ्रिज पानीमा डुबेका छन् भने चामल,दाल,तरकारी जस्ता सामान नष्ट भएको छ ।

 

वाग्मती प्रदेश 

 

वागमती प्रदेशका जिल्ला अन्यको तुलनामा कम प्रभावित बनेका छन् । सिन्धुलीमा भने खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । चितवन, मकवानपुर लगायत जिल्ला पनि बाढीपहिरो प्रभावित बनेका छन् ।

 

गण्डकी प्रदेश  

 

गण्डकीका म्याग्दी, मनाङ, मुस्ताङ लगायत जिल्ला पहिरोबाट बढी प्रभावित भएका छन् । बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा सयौं यात्रु मंगलबार दिनभर अलपत्र बने ।

 

 

पहिरोले साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दोहोरो गाडी पास हुन नसक्दा यात्रु अलपत्र परेका हुन् । १५ घण्टाभन्दा धेरै पर्यटकहरु यस क्षेत्रमा अलपत्र परेका छन् । गण्डकीका जिल्लाहरुमा मानवीय क्षति भने भएको छैन ।

 

लुम्बिनी प्रदेश  

लुम्बिनीका रुपन्देही, बाँके, गुल्मी लगायत जिल्ला बाढीपहिरोबाट प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढीले यहाँका धेरै ठाउँमा डुबानमा पारेको छ ।

 

 

राप्ती नदीको बाढीमा फसेका चार जनाको भने मंगलबार बिहान उद्वार गरियो । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ ।

 

 

कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको छ ।

 

 

पाल्पामा पनि बाढीपहिरोले ठूलो असर पुर्‍याएको छ । पर्यटकीयस्थल रानीमहल पुगेका २ सय बढी आन्तरिक पर्यटकहरु पहिरोका कारण अलपत्र परे । तानसेनदेखि रानीमहल पुग्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा पर्यटकहरु अलपत्र परेका थिए ।

 

 

मंगलबार बिहानैदेखि हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीरलगायतका स्थानमा ठूला पहिरा खसेका छन् । पहिरोले गर्दा रानीमहल र तानसेतर्फ सडक अवरुद्ध भएको छ । केही पर्यटकहरु गाडी बाटोमै छाडेर पैदल हिँडेर गन्तव्यतर्फ लागे ।

 

कर्णाली प्रदेश  

कालिकोटमा पहिरोका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । एक घाइते छन् । महाबै ७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो । स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन्।

 

 

 

घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् ।

 

 

जोखिममा रहेका २५ घर परिवारलाई स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ।

 

 

पहिरोले मान्म बजारका दर्जनौं १३ घर जोखिममा परेका छन् । ताडीबाट मान्म बजार आउने साकालामा ढुंगा नजिकै पुरानो बाटोमा पहिरो जाँदा आवागमन नै रोकिएको छ ।

 

 

 

यस्तै कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्ने जितेस्थित कर्णाली नदीमा रहेको फेरी बगाएको छ । फेरी बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।

 

 

 

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरी, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायत ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

 

 

डडेलधुरामा पनि पहिरोले एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।

 

 

 

यस्तै अछाममा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयहरु मर्कामा परेका छन् । साथै गैरीटाड, कैलाशखोला, जनालीकोट, मार्कु र चौखुट्टेमा पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

 

 

अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालकाअनुसार डोजर प्रयोग गरेर बाटो खुलाउन पनि जोखिम रहेको छ ।

 

सुदूरपश्चिम प्रदेश 

 

सुदूरपश्चिमका सबैजसो जिल्लाहरु अन्यको तुलनामा बढी प्रभावित छन् । सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक बझाङ हो । जहाँ पहिरोमा परी २४ जना बेपत्ता भएका छन् ।

 

 

 

सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका ४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ ।

 

 

 

गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना अझै बेपत्ता छन् । गगने सार्कीका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा छन् ।

 

 

यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् ।

 

 

 

पूरा गाउँ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

 

 

सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी र संचार सेवा पनि अवरुद्ध भएको बताइएको छ ।

 

 

बैतडीमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ । सेती नदीमा बहाव बढेपछि सिगास गाउँपालिका ढुंगाड गाउँ नै बगाउने जोखिम भएपछि करिब ६० जना उद्वारको पर्खाइमा छन् ।

 

 

 

सोमबार रातिदेखि उद्वारको पर्खाइमा रहेका उनीहरुको मंगलबार दिनभर पनि उद्वार हुन सकेन । उद्वारका लागि गएको नेपाली सेनाको हेलिकप्टरसमेत अवतरण नगरिकन फर्किएको छ ।

 

 

नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जहाँ स्थानीयहरु जुनसुकै बेला आफूहरुलाई बाढीले बगाउनसक्ने भन्दै उद्वारका लागि आग्रह गरेका छन् ।

 

 

खराब मौसम र संचार सेवा अवरुद्ध हुँदा उद्वारको पर्खाइमा बसिरहेका ढुंगाडका बासिन्दासम्म उद्वारकर्मी पुग्न सकेका छैनन् । सुदूरपश्चिमका जयपृथ्वी राजमार्गसहित अधिकांश पहाडी जिल्ला जोड्ने सडक पहिरोका कारण अवरुद्ध छन् ।

 

 

 

सदरमुकाम नजिकैको डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल र नजिकैका ५ वटा पक्की घर पनि बगाएको छ । बजारका अरु घरहरु पनि जोखिममा परेको भन्दै स्थानीयहरु सुरक्षित स्थानतर्फ गएका छन्।

 

 

कन्चनपुर पनि बाढीबाट नराम्ररी प्रभावित बनेको छ । भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाको भने मंगलबार उद्धार भएको छ । मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्वार गरेको हो ।

 

 

 

यस्तै डोटीका विभिन्न स्थानमा बाढीपहिरोका कारण ९ जनाको मृत्यु भएको छ । कैलालीका अधिकांश स्थानमा डुवान भएको छ । धनगढी बजार नै जलमग्न भएको छ ।

 

 

 

धनगढी उपमहानगरपालिकाका विभिन्न भागमा बाढीले कटान गर्नुका साथै डुबान गरेको छ । भीमदत्त राजमार्गमा आएको पहिरोका कारण यातायात अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्। किसानहरुले भित्र्याउने तयारी गरेको धानबालीमा नोक्सान पुगेको छ ।

 

 

धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क, वडा नम्बर ३ स्थित विशालनगर, मिलनचोक, वडा नम्बर १ को सन्तोष टोल, बजार मार्ग, शीवनगर, वडा नम्बर ५ को हसनपुर क्षेत्र लगायतका टोलबस्तीमा डुबानले कयौं घरभित्र पानी पसेको छ।

 

 

भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुरदेखि भासुभीर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

 

 

यस्तै सल्यानमा पहिरोले तीन घर भत्किएका छन् । शारदा नगरपालिकामा दुई र बन्गाड कुपिण्डे नगरपालिकामा एक घर भत्किएका हुन् । घर भत्किएपछि परिवारका सबै सुरक्षित स्थानतर्फ भागेर बाँच्न सफल भएका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाका अनुसार लगातारको वर्षाका कारण सल्लीबजार चौरजहारी सडकखण्ड अवरुद्ध भएको छ ।

 

 

बन्गाड कुपिण्डे नगरपालिकाको धारापानी भन्ने ठाँउमा गएको पहिरोले मंगलबार बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो । कान्तिपुरबाट