दर्शन : दर्शनशास्त्रको स्वरूपबारे

– हस्तबहादुर केसी

“दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ । जग वर्गसंघर्ष नै हो । त्यसपछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा कि सर्वहाराको दर्शन ? सर्वहाराको दर्शन माक्र्सवादी दर्शन हो ।

 

– माओ त्सेतुङ, माओका दुर्लभ रचनाहरू, पृष्ठ ९१, खोजी प्रकाशन गृह, काठमाडौँ, २०६४

 

 

 

यहाँ दार्शनिक फाँटमा दर्शनशास्त्रको स्वरूपअन्तर्गत दर्शन भनेको के हो ? दर्शनशास्त्रको मौलिक प्रश्न, दर्शनशास्त्रको सिद्धान्त, आदर्शवाद र भौतिकवादबारे, दर्शनशास्त्रको पद्धति ः द्वन्द्ववाद र अधिभूतवादबारे दर्शनशास्त्रको महत्व जस्ता अत्यन्तै महत्वपूर्ण दार्शनिक प्रणालीबारे आधारभूत रुपमा प्रस्ट पार्ने प्रयत्न गरिएको छ ।

 

(१) दर्शन के हो ?

दर्शन के हो भन्ने कुरा बुझ्नु भन्दा पहिले दर्शनको जन्म वा विकास कहिले भयो ? भन्ने कुरा जान्नुपर्ने हुन्छ ।

मानव जातिको इतिहासमा उत्पादनका निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो ।

 

 

दासस्वाामि समाज अर्थात् दासयुगिन समाजको विकासप्रक्रियाका बीचबाट प्राचीन युनान भारत र चीनमा दर्शन विकास हुँदै आएको पाइन्छ ।

 

 

वास्तविक कुरा के हो भने विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ? यी आफै जन्मिएका हुन् कि यिनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति र विकास कसरी भयो ?

 

के प्रकृति र समाजमा कुनै व्यवस्था र नियमसंगति छ ? मानव जीवनका उद्देश्य, आदर्श, कर्तव्य, मूल्य र मान्यता के हुन् ? के मान्छेले प्रकृति र समाजको सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्तछ ?

 

 

के मानिस आफ्नो ज्ञान र व्यनवहारिक क्रियाशीलताका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ? यी र यस्तै प्रकारका अनेकौं प्रश्नहरूको सही जबाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।

 

दर्शन भनेको हेर्नु हो अर्थात् कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने साधनको नाम नै दर्शन हो । एउटा शास्त्रका रूपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफी

(Philosophy) शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसफी बनेको हो, जसको अर्थ विवेक प्रेम हुन्छ ।

 

प्राचीन भारतमा पनि दर्शन शब्दको प्रयोग हुँदै आएको छ र दर्शन शब्द संस्कृत भाषाको “दृश्” धातुबाट भएको छ । दृश् को अर्थ हेर्नु , जाँच्नु र बुझ्नु हुन्छ । तार्किक परिक्षणद्वारा सत्य पत्ता लगाउनु दर्शनको विशेषता हो ।

 

प्राचीन तथा मध्यकाल हुँदै आधुनिक कालसम्म आउँदा दर्शन निकै विकसित एवं परिमार्जित बन्न पुगेको छ । दर्शनको अन्तर्वस्तुको मूल आधार सत्यको खोज रहिआएको छ । दार्शनिक हेगेलका दृष्टिमा दर्शनको विषय सत्यको संज्ञान हो ।

 

 

सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सले दर्शनलाई आफ्नो समयको विश्वको बौध्दिक सारतत्व बताउनु भएको छ । विश्व भनेको प्रकृति र समाज हो । फ्रेडरिक एंगेल्सले यश प्रकारको दर्शनलाई विश्व दृष्टिकोण भन्नुभएको छ ।

 

 

दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रूप हो । वर्ग समाजमा सामाजिक चेतनाको रूप वर्गीय हुन्छ । ठिक यसै कारणले दर्शनको रूप पनि वर्गीय हुन्छ ।

 

वर्ग समाजमा हरेक वर्गले आ– आफ्नो विचार, उद्देश्य, मत, संकल्प, भावना एवं क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै औचित्य पुष्टिको काम गर्दछ ।

 

 

यस अर्थमा हरेक दार्शनिक प्रणालीभित्र मूलतः तीन तत्व पर्दछन् – (१) वर्गीय पक्षधरता, (२) सिद्धान्त र (३) पद्धति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।

(२) दर्शनशास्त्रको मौलिक प्रश्न

चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो । यस विषयमा एंगेल्सले भन्नुभएको छ , समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । यहाँ चिन्तन र सत्ता जस्ता दुई महत्वपूर्ण शब्दहरूको उल्लेख गरिएको छ, हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी छ ।

 

यहाँ प्रयोग गरिएको चिन्तन अन्तर्गत संवेदना, अनुभव, इच्छा, संकल्प, भावना, विचार, अवधारणा, सिद्धान्त, दृष्टिकोण जस्ता चेतनाका विविध रूपहरू पर्दछन् ।

 

सत्ता भनेको अस्तित्व हो, विश्व हो । यस अन्तर्गत प्रकृति र समाज पर्दछ । यस अर्थमा चिन्तन र सत्ताको सम्बन्धको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।

 

दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्वपूर्ण पहलुहरू छन् – (१) यस अन्तर्गत चिन्तन र सत्ता बीच प्राथमिकता क्रम निर्धारण गर्ने कुरा आउँछ ।

 

आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो या विश्व अनन्तकालदेखि नै अस्तित्वमा छ ? दार्शनिकहरूले यस प्रश्नको जुन उत्तर दिए त्यसले उनीहरूलाई दुई ठूला शिविरहरूमा खडा गरिदियो ।

 

 

जसले प्रकृतिको सट्टामा आत्मलाई प्राथमिकता दिए र आखिरमा उनीहरूले विश्वको सृष्टि ईश्वरले गरेको स्वीकारे, चेतनाको जन्म पहिलो कि पदार्थको जन्म पहिलो भन्ने प्रश्नमा चेतनाले पदार्थलाई जन्म दिएको हो भन्ने र विश्व अज्ञेय छ, विश्व अबोधगम्य छ, जान्नै सकिन्न, बुझ्नै सकिन्न दार्शनिकहरूले यस प्रश्नको जुन उत्तर दिए उनीहरूलाई आदर्शवादको शिविरमा खडा गरिदियो ।

 

 

यसको ठिक विपरीत अर्कोथरी जसले प्रकृतिलाई प्राथमिकता दिए, पदार्थको विशिष्ट उपज चेतनाको जन्म भएको हो, विश्व ज्ञेय छ, विश्वलाई जान्न सकिन्छ, बुझ्न सकिन्छ, बोधगम्य छ, यसलाई बदल्न सकिन्छ भन्ने दार्शनिकहरू ती भौतिकवादका विभिन्न शाखाहरूमा सामेल भए ।

 

 

यसरी दार्शनिकहरू आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा खडा भए ।यस अतिरिक्त आदर्शवाद र भौतिकवादको बीचमा समन्वय कायम गर्ने, दुवैलाई समानन्तर रूपले लिने वा तटस्थ रहने तेस्रो धार पनि पाइन्छ ।

 

यसरी हेर्दा दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो पहलुको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृत्ति पाइन्छन् : आदर्शवाद , भौतिकवाद र बीचका धाराहरू । बीचका धारा अन्तर्गत द्वैतवाद , तटस्थतावाद वा समन्वयवाद आउँछन् ।

 

दोस्रो पहलु– यस अन्तर्गत चिन्तन र सत्ता बीचको आपसी अन्तरक्रिया उद्घाटित गर्ने कुरा आउँछ । चिन्तन र सत्ताको तादाम्यको यस् प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवादी, अज्ञेयवादी र नकारात्मक उत्तर दिनेहरू अज्ञेयवादको श्रेणीमा पर्दछन् ।

 

 

चिन्तन र सत्ताको तादम्यसंग सम्बन्धित प्रश्न विश्व , त्यसको सारतत्व र त्यसका नियमहरूलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसंग सम्बन्धित प्रश्न हो ।

 

(३) दार्शनिक सिद्धान्त: आदर्शवाद र भौतिकवाद

आदर्शवाद : आदर्शवाद एक यस्तो दार्शनिक सिद्धान्त हो , जसले चेतना , आत्मा , संकल्प , विचार वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व , पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने  कुरा स्वीकार गर्दछ ।

 

विचार, आत्मा वा आदर्श (Ideal)जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद (Idealism_ )रहन गएको हो ।

 

आदर्शवादका पनि दुई हाँगा छन्– वस्तुनिष्ठ आदर्शवाद र व्यक्तिनिष्ट आदर्शवाद । मानिसको आत्मा वा चेतना भन्दा बाहिरको कुनै सामान्य आत्मा, चेतना वा ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु वस्तुनिष्ठ आदर्शवाद (Objective Idealism ) हो ।

 

जुन दर्शनमा व्यक्तिगत आत्मा, मन, संवेदना, संकल्प, अनुभव, विचार आदिलाई प्राथमिकता दिइन्छ त्यसको नाम व्यक्तिनिष्ठ आदर्शवाद (Subjective Idealism) हो ।

 

केही यस्ता दार्शनिकहरू छन् जसले चिन्तन र सत्ता, आत्मा र प्रकृति र पदार्थलाई समानान्तर रूपमा प्राथमिक मान्ने , तिनमा समन्वय कायम गर्ने वा आफूलाई तटस्थ देखाउने गर्दछन् , तिनको दार्शनिक सिद्धान्तलाई द्वैतवाद , समन्वयवाद वा तटस्थतावाद भनिन्छ । गौतम बुध्द तटस्थवादी धाराका दार्शनिक हुन् ।

 

 

विश्वलाई ज्ञेय अर्थात् बोधगम्य मान्ने चिन्तनको सम्बन्ध भौतिकवाद र अज्ञेयवादको सम्बन्ध आदर्शवादसंग रहेको छ ।

 

यद्यपि हेगेलजस्ता आदर्शवादीहरूले विश्वलाई ज्ञेय अर्थात् बोधगम्य मानेर भौतिकवादको नजिक पुगेका थिए । तर तमाम प्रकारका शंकावादी र अज्ञेयवादीहरू विश्वलाई अज्ञेय मान्दछन् ।

 

ह्युम र काण्टले विश्वलाई अज्ञेय मान्दछन् । तर तमाम भौतिकवादीहरू, विशेषतः कार्ल माक्र्सद्वारा विश्वलाई बोधगम्य मानिएको छ । संसारलाई ज्ञेय र अज्ञेय मान्ने चिन्तन ज्ञान– सिद्धान्तसँग सम्बन्धित रहेको छ ।

(४) दर्शनशास्त्रको पद्धति : द्वन्द्ववाद र अधिभूतवाद

विश्वको विकास प्रक्रिया र त्यसका नियमहरूको अध्ययन गर्ने चिन्तनप्रणालीलाई दर्शनशास्त्रको पद्धति भनिन्छ । दर्शनशास्त्रको पद्धति ज्ञान – सिद्धान्तको प्रश्नसंग अभिन्न रूपमा जोडिएको छ ।

 

दर्शनशास्त्रको इतिहासमा विश्वदृष्टिकोणका दुई आधारभूत पद्धति पनि रहिआएको छन् – ती हुन् द्वन्द्ववाद र अधिभूतवाद।

 

द्वन्द्ववाद प्राचीन युनानी दिएलोगो (Dialogo) पदावलीकाट विकसित भएको हो । यसको अर्थ हो – बहसको कला ।

 

त्यस्तै अधिभूतवाद पनि प्राचीन युनानी मेटा – फिजिका (Meta – physica) पदावलीबाट विकसित भएको हो । अधिभूतवादले भौतिकविज्ञानभन्दा पर भन्ने अर्थ बुझाउँछ । दर्शनशास्त्रको विकासको इतिहासमा यी शब्द परिमार्जित बन्दै आएका छन् ।

 

हामीले द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थिरताको संवाहक पदावलीको अर्थमा बुझ्न सकिन्छ । द्वन्द्ववाद (Diakectcs) र अधिभूतवाद (Meta – physica) परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् । प्राचीन युनान, चीन, भारतमा यी पद्धतिहरू विकसित भएको पाइन्छ ।

 

मध्ययुगमा आध्यात्मवादका रूपमा अधिभूतवाद प्रभावी बनेर गयो । आधुनिक पुँजीवादी दर्शनमा अधिभूतवाद अन्तर्गत यान्त्रिकतावाद, भडुँवा विकासवादजस्ता दार्शनिक पद्धति देखा पर्दै आएका छन् ।

 

 

आधुनिक दर्शनको इतिहासमा द्वन्द्ववादको विकास गर्ने श्रेय हेगेल र कार्ल माक्र्सलाई छ । हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो, तर माक्र्सको द्वन्द्ववाद भौतिकवादी रहेको छ ।

 

द्वन्द्ववाद र अधिभूतवादले विश्वको बारेमा पुरै विपरीत तस्वीर पेश गर्दछन् । अधिभूतवादले हरेक वस्तु र प्रक्रियालाई स्थिरता, अलगाउ, एकपक्षीयता र परिवर्तनहीनताको अवस्थामा देख्दछ ।

 

 

यसको ठिक उल्टो द्वन्द्ववादले हरेक वस्तु र प्रक्रिया र विश्लाई गति , पारस्परिक अन्तः सम्बन्ध , बहुविधता र परविर्तनको अवस्थामा हेर्दछ ।

 

 

अधिभूतवादले विश्वको गलत तस्बिर पेश गर्दछ । यसको ठिक उल्टो द्वन्द्ववादले विश्वको सही तस्बिर पेश गर्ने काम गर्दछ । मुख्य भिन्नता यिनै हुन् ।

 

(५) दार्शनिक पक्षधरताको प्रश्न

दार्शनिक फाँटमा दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ । वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरू टक्कराउँदछन् र ती भिन्न विचारहरूका रूपमा प्रतिबिम्ब बन्न पुग्दछन् ।

 

 

ती भिन्न विचारहरूको आधारशिलामा विभिन्न विश्वदृष्टिकोणहरूको निर्माण हुन्छ । दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवादकाबीच जुन संघर्ष चल्दै आएको छ , त्यो यसै वर्गीय वैचारिक संघर्षको प्रतिबिम्बन हो ।

 

आजसम्म जुन वर्गसंघर्ष चल्दै आएको छ, दर्शनको वर्गीय पक्षधरतामा आधारित रहेको छ । युरोपमा मध्ययुगको अन्त्यतिर आदर्शवाद र भौतिकवादबीच जुन जुन संघर्ष चल्यो त्यो मरणशील सामन्तवाद र उदीयमान पुँजीपतिवर्गमा बीचको वर्गसंघर्षको अभिव्यक्ति थियो ।

 

आज तमाम प्रकारका आदर्शवाद र द्वन्द्वात्मक भौतिकवादका बीच जुन संघर्ष चलिरहेको छ त्यो तमाम प्रकारका प्रतिक्रियावाद र क्रान्तिकारी जनसमुदाय, साम्राज्यवादमा गिरेको पुँजीपतिवर्ग तथा सर्वहारावर्गबीचको जीवनमरणको वर्गसंघर्षको प्रतिबिम्बन हो ।

 

दर्शनशास्त्रको मौलिक प्रश्नमा भौतिकवाद र आदर्शवाद बीचको लडाइँमा जसले आफूलाई गैरपक्षधर, तटस्थ वा तेस्रो धारको हिमायती देखाउने गर्दै आएका छन्, वास्तवमा ती मूलतः प्रतिक्रियावादी वर्ग, तिनको वर्गहित विचारधाराकै प्रतिनिधि हुन् ।

 

कमरेड माओले वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्षकै हुने कुरामाथि विशेष जोड दिनुभएको थियो । कमरेड माओले भन्नुभएको थियो, “दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ । जग वर्गसंघर्ष नै हो ।

 

 

त्यसपछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा कि सर्वहाराको दर्शन ? सर्वहाराको दर्शन माक्र्सवादी दर्शन हो ।

 

– माओ त्सेतुङ, माओका दुर्लभ रचनाहरू, पृष्ठ ९१, खोजी प्रकाशन गृह, काठमाडौँ, २०६४

 

वर्गसमाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । हरेक दर्शनले आफ्नो वर्गहित , विचार र राजनीतिक उद्श्येको सेवा गर्दछ ।

 

ठिक यसैकारण आजको साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण संघर्षको युगमा माक्र्सवादी ( मालेमावादी ) दर्शनले सर्वहारा वर्ग र पुँजीवादी दर्शनले पुँजीपति वर्गको सेवा गर्ने काम गर्दै आएको छ ।

(६) दर्शनशास्त्रको विषयवस्तु

दर्शनशास्त्रको फाँटमा दर्शनशास्त्रको विषयवस्तु भनेको विश्वदृष्टिकोणको विषयवस्तु हो । दर्शनशास्त्रको विषयवस्तु अन्तर्गत दर्शनको बिशिस्ट महत्व र परिधिको निर्धारण गरिन्छ ।

 

 

दर्शनको लामो ऐतिहासिक विकास प्रक्रियामा दर्शनको विषयवस्तु धेरै परिमार्जित बन्दै आएको छ र आजको युगमा यसको बिशिस्टीकरण हुन गएको छ ।

 

प्राचीन युनानमा अरस्तुले ज्ञानलाई मूलतः तीन भागमा विभाजित गरेका थिए – अनुभवमूलक ज्ञान , पदार्थविज्ञा र अधिभूतवाद । साथै अरस्तुका भनाइमा अधिभूतवाद, आध्यात्मविज्ञान थियो र त्यसलाई उनले प्रथम दर्शन मान्दथे ।

 

उनका दृष्टिमा अधिभूतवाद सत्ताको शास्त्र थियोे र जस अन्तर्गत पदार्थ तथा ईश्वरको अध्ययन गरिन्थ्यो । यस अर्थमा दर्शन ज्ञानविज्ञानका सबै शाखाको उच्च ज्ञान वा विज्ञानको विज्ञान बन्न गएको थियो ।

 

आधुनिक युगसम्म आउँदा ज्ञानविज्ञानका विविध शाखा – प्रशाखाहरूमा ठूलो विकास र प्रगति हुँदै गयो ।तर दर्शनलाई ज्ञान विज्ञानका सबै शाखाहरूको उच्च ज्ञान वा विज्ञानको विज्ञान मान्ने चलन कायमै रहयो ।

 

 

फायरवाखसम आउँदा पनि विज्ञानको विज्ञान नै मानियो । यो स्थितिमा माक्र्स – एंगेल्सले एकातिर प्रकृति दर्शन तथा इतिहास दर्शनसंग सम्बन्धित ज्ञानविज्ञानका विविध शाखाहरूलाई स्वतन्त्र विज्ञान वा शास्त्रको हैसियत प्रदान गर्नु भयो र अर्कोतिर दर्शनशास्त्रलाई आफ्नै स्वतन्त्र विषयवस्तुले समृद्ध एक विशिष्ट विज्ञानका रूपमा स्थापित गर्नु भयो । माक्र्सले भन्नुभयो , “हरेक साँचो दर्शन आफ्नो ठोस समयको विश्वको बौद्धिक सारतत्व हो ।

 

– माक्र्स–एंगेल्स, संकलित रचना भाग १, पृष्ठ १९५, प्रगति प्रकाशन, मास्को, १९७५

माक्र्सकै भनाइअनुसार दर्शन समकालीन विश्वको बौद्धिक सार बन्न जान्छ । यसरी हेर्दा दर्शन वास्तविक विश्वको सत्यको ज्ञान प्राप्त गर्ने विशिष्ट शास्त्र बन्न जान्छ ।

 

तसर्थ त्यसपछि दर्शन अरु विशिष्ट प्रणालीहरूका सम्बन्धमा विशिष्ट प्रणाली अर्थात् ज्ञानविज्ञानका सबै शाखाहरूमा प्रभुत्व स्थापित गर्ने प्रणाली नभएर विश्वको सामान्य दर्शन बन्न जान्छ ।

 

दर्शन भनेको विश्वको सामान्य दर्शन अर्थात् विश्वदृष्टिकोण हो । दर्शनको विषयवस्तु पनि यसै विश्वदृष्टिकोणको अध्ययनमा आधारित रहेको छ ।

 

 

दर्शनको मूल विषयवस्तु दर्शनको मौलिक प्रश्न अर्थात् चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । सत्ताको अर्को अर्थ विश्व हो, विश्व अन्तर्गत प्रकृति र समाज पर्दछ ।

 

 

यसरी हेर्दा प्रकृति, समाज र चिन्तनका सामान्य नियमको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु बन्न जान्छ । कुनै पनि दार्शनिक प्रणालीमा मूलतः तीन तत्व हुन्छन् – वर्गीय पक्षधरता, सिद्धान्त र पद्धति ।

 

 

वर्गीय पक्षधरता राजनीतिक विचारधारा, प्रवृत्ति र राज्यसत्तासँग सम्बन्धित रहेको हुन्छ । यो सामन्तवाद, पुँजीवाद, वैज्ञानिक समाजवाद जस्ता विचारप्रणाली, व्यवस्था र प्रवृत्तिसँग गाँसिएको हुन्छ ।

 

 

चिन्तन र सत्ताबीचको सम्बन्धको प्रश्न दर्शन सैद्धान्तिक पक्ष हो । यस अन्तर्गत आदर्शवाद, भौतिकवाद सहितका विविध दार्शनिक प्रवृत्तिहरूको अध्ययन गरिन्छ ।

 

सत्ता र चिन्तन अर्थात् प्रकृति, समाज तथा चिन्तनको विकास प्रक्रिया र तिनको पारस्परिक सम्बन्धलाई पद्धतिका दृष्टिले पनि अध्ययन गरिन्छ । यो दर्शनको पद्धतिगत अध्ययनको विषय हो ।

 

यस अन्तर्गत द्वन्द्ववाद र अधिभूतवाद सहितका विविध पद्धतिहरूको अध्ययन गरिन्छ । दर्शनमा वर्गीय पक्षधरता निश्चित वर्गको राजनीतिक विचारधाराद्वारा निर्देशित रहेको हुन्छ ।

 

 

यस अर्थमा दार्शनिक सिद्धान्त र पद्धतिको निर्माणमा वर्गीय राजनीतिक प्रवृत्तिको भूमिका निर्णायक हुन्छ । माक्र्सवादी मान्यता अनुसार दर्शनको विषयवस्तु पनि ठिक यसै कुरामा आधारित रहेको छ ।

 

दर्शनको मूल विषयवस्तु त्यसको मौलिक प्रश्न हो । दर्शनको परिधि अर्थात् सीमा त्यसको विषयवस्तुमा आधारित हुन्छ । दर्शनले चिन्चन र सत्ताको सम्बन्धको अध्ययन गर्दछ । दर्शनले प्रकृति समाज र चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्छ र दर्शन वर्गीय विचारप्रणालीद्वारा निर्धारित हुन्छ ।

 

ठोस कुरा के हो भने हरेक चीजको मौलिकता , विशिष्ट स्वत्व वा ठोस पहिचान त्यसको आफ्नै विशिष्ट अन्तर्विरोधमा आधारित हुन्छ । ज्ञान विज्ञानका विशिष्ट शाखाहरूको वर्गीकरण र तिनको विशिस्ट सापेक्षता वा स्वायत्तता पनि यसैद्वारा निर्धारित हुन्छ ।

 

 

यस विषयमा कमरेड माओले “आफ्नै विशिष्ट स्वत्वका रूपमा दर्शनशास्त्रलाई आदर्वाद, भौतिकवाद र द्वन्द्ववादको अध्ययन गर्ने शास्त्र” का रूपमा लिनुभएको छ ।

 

दर्शनशास्त्र के हो ? भन्ने विषयमा कमरेड माओ अगाडि भन्नु हुन्छ, वर्गसमाजको उदय भएदेखि दुई थरीको ज्ञान देखिएको छ – उत्पादन – संघर्षको ज्ञान र वर्गसंघर्षको ज्ञान ।

 

 

प्राकृतिक विज्ञान र सामाजिक विज्ञान यिनै दुई थरीको ज्ञानको निचोड हुन् र दर्शनशास्त्र चाहिँ प्रकृतिसम्बन्धि ज्ञान र समाजसम्बन्धि ज्ञानको सामान्यीकरण र एकत्रीकरण हो ।

– माओ त्सेतुङ, माओ त्सेतुङका संकलित रचनाहरू, भाग ३, पृष्ठ २१, सिर्जनशील प्रकाशन, अनमनगर, काठमाडौंँ २०५७ ।

कमरेड माओका यी भनाइबाट ज्ञानविज्ञानलाई मूलतः तीन भागमा विभाजित गर्न सकिन्छ – प्राकृतिक विज्ञान , सामाजिक विज्ञान र संश्लेषणात्मक ज्ञानको विज्ञान । यी तीन विज्ञानमध्ये दर्शन संश्लेषणात्मक ज्ञानको विज्ञान हो ।

 

 

 

यसको अर्थ दर्शन प्राकृतिक विज्ञान र सामाजिक विज्ञानबीच समन्वय कायम गर्ने विज्ञान होइन । किनकि दर्शनको आफ्नो स्वतन्त्र मौलिक विषयवस्तु छ , त्यो दर्शनशास्त्रको मौलिक प्रश्न हो , जसले दर्शनशास्त्रलाई अन्य विज्ञानभन्दा स्वायत्त हैसियत प्रदान गर्दछ । यसका साथै दर्शनले विविध प्रकारका विचारहरूलाई एकीकृत गरि अखण्ड विश्वदृष्टिकोण प्रदान गर्दछ ।

 

 

तर पुँजीवादी दार्शनिकहरूको ठूलो हिस्सा दर्शनको विशिष्ट स्वत्व , परिधि र वैज्ञानिकताबारे उपयुक्त प्रकारको माक्र्सवादी मान्यतासंग पुरै असमत छन् ।

 

 

 

यस हिस्सा अन्तर्गत दर्शनशास्त्रको मौलिक प्रश्नसम्बन्धि तेस्रो धारका ती दार्शनिकहरू आउँछन् , जसले दर्शनलाई आदर्शवाद र भौतिकवादमा विभाजन गर्ने मान्यतालाई अधिभूतवादी बताउँदै आफूलाई तटस्थ ,विवादमुक्त र सत्तामीमांसा ( इलतययिनथ ) विरोधी देखाउने गर्दछन् ।

 

 

यस धाराका प्रवर्तक कोम्टे हुन् उनको दर्शनको नाम प्रत्यक्षवाद हो । उनले भनेका थिए – दर्शन विज्ञान भन्दा अलग्गै कुनै शास्त्र होइन, विज्ञान नै दर्शन हो र दर्शनमा सबै विज्ञानहरूको समन्वय हुन्छ ।

 

 

दर्शनलाई मौलिक प्रश्न, स्वतन्त्र विषयवस्तु र वैज्ञानिक विश्वदृष्टिकोणबाट बञ्चित गर्ने यो प्रवृत्ति माखवाद, नवप्रत्यक्षवाद, नवयथार्थवाद, व्यवहारवाद लगायतका अनेकौं धाराहरूमा देखा पर्दै आएको छ ।

 

आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा आफूलाई उत्तर आधुनिकतावादी भनाउनेहरूले उक्त प्रत्यक्षवादलाई अंगाल्दै त्यसमा विखण्डनवादलाई जोड्दै दर्शनको मौलिक प्रश्न, विषयवस्तु, सैद्धान्तिक स्वरूप र विश्वदृष्टिकोणपरक मान्यतालाई अधिभूतवाद भनी लत्याउँदै दर्शनलाई साहित्यशास्त्र, अलंकारशास्त्र, भाषाशास्त्रमा गिराउने काम गर्दै आएका छन् । यस धाराका मुख्य प्रवर्तक डेरिडा हुन् ।

 

 

उपयुक्त सबै कुराहरूमाथि ध्यानदिदा दर्शनलाई मौलिक प्रश्न तथा स्वतन्त्र विषयवस्तुबाट बञ्चित गर्ने , दर्शनलाई स्वतन्त्र विज्ञानका रूपमा अंगिकार गर्न नचाहने र त्यसलाई प्रकृति विज्ञान , भाषा दर्शन एवं अलंकारशास्त्रमा गिराउन चाहने विचारहरू गलत हुन् । दर्शन आफ्नै स्वतन्त्र विषयवस्तु र विशिष्ट स्वत्वलाई लिएर चल्ने विश्वदृष्टिकोणमूलक विज्ञान हो ।

(७) दर्शनको महत्व

माथि पनि ठाउँ ठाउँमा भनिएको छ वर्गसमाजमा दर्शनको वर्गीय अर्थ र महत्व हुन्छ । वर्गसमाजमा दर्शनले वर्ग हित र विचारको प्रतिबिम्बन तथा प्रतिनिधित्व गर्दछ ।

 

 

वर्गसमाजमा जुन दर्शन सत्यको सन्निकट र वैज्ञानिक छ , त्यस कुराको टुंगो सम्बन्धित समाजको भौतिक अवस्था र सामाजिक व्यवहारद्वारा लगाइन्छ ।

 

दर्शनको वास्तविक मूल्य र महत्व कुन कुरामा छ भने त्यसले प्रकृति र समाजको सत्यपूर्ण या झूट तस्बिर पेश गर्दछ ।

 

त्यसले हरेक वर्गका मान्छेलाई जुनसुकै रूपमा होस् समस्या बुझ्न र तिनको समाधान प्रस्तुत गर्न मद्दत पुर्याउछ । सबै दर्शन सत्यपूर्ण हुनेछन् भन्ने होइन ।

 

 

यसलाई समाज विकासको सापेक्षतामा हेर्नु पर्छ र सही चिन्तनको विकास पनि ऐतिहासिक विकास प्रक्रियासंगै गाँसिएको हुन्छ ।

 

 

यस परिपेक्ष्यमा हेर्दा आदर्शवाद र अधिभूतवादले संसारको गलत वा एकपक्षीय तस्बिर पेश गर्दछन् । तर संसारको सच्चा तथा समग्र तस्बिर प्रस्तुत गर्न द्वन्द्वात्मक भौतिकवादी दर्शन नै समर्थ छ ।

 

आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यस युगमा सर्वहारा वर्गको दर्शन अर्थात् माक्र्सवादी दर्शन नै सुसंगत , क्रान्तिकारी र वैज्ञानिक दर्शन हो ।

 

 

यस दर्शनले नै सर्वहारा वर्ग र श्रमिक जनसमुदायलाई दुश्मनका विरुद्धको संघर्ष र मुक्तिको दिशामा, पुगेको ध्वंस र नयाँको निर्माणमा तथा संसारलाई बुझ्न र बदल्न एवं भौतिक वैचारिक र साँस्कृतिक रूपान्तरण गर्दै अघि बढ्नमा राम्रो मद्दत गर्दछ ।

 

 

साथै माक्र्सवादी (मालेमावादी) दर्शनले प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूमा वैज्ञानिक विश्वदृष्टिकोण प्रदान गरेर नियमित र अनुसन्धानमूलक कामका लागि पनि यथेष्ट मद्दत पु¥याउँछ ।

(केसी वरिष्ठ माक्र्सवादी लेखक हुन् ।)