नेपाली सेनाले सैनिक सकल दर्जा सहुलियत आवास कर्जा सुरु

काठमाडौं। नेपाली सेनाले सैनिक सकल दर्जा सहुलियत आवास कर्जा–२०७८ को कार्यक्रम सुरु गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन्।

 

 

सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, पति वा पत्नीका नाममा नेपालभित्र आफ्नो घर नभएका बहालवाला सकल दर्जालाई सहुलियतपूर्ण ब्याजदर (३.३२ प्रतिशत) मा उक्त २५ लाखसम्मको कर्जा उपलब्ध गराउने सेनाले जनाएको छ।

 

 

त्यो कर्जा देशभरको कुनै पनि ठाउँमा भवन निर्माण गर्न वा घर खरिद गर्न प्रयोग गर्न सकिनेछ।

 

 

हालसम्म २० जनाले उक्त सुविधाका लागि आवेदन दिइसकेको र त्यसमध्ये सातजनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको सेनाले जनाएको छ।

 

 

प्रधानसेनापति शर्माले पदबहालीपछि सकल दर्जालाई गरेको पहिलो सम्बोधनका क्रममा उक्त आवास कर्जा कार्यक्रम लागु गर्ने प्रतिबद्धता गरेका थिए।

 

 

 

उक्त प्रतिबद्धताअनुसार गत कात्तिक २२ गते सैनिक सकल दर्जा सहुलियतपूर्ण आवास कर्जाको सहमति पत्रमा प्रतिस्पर्धाका आधारमा छनोट भएका राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थानले हस्ताक्षर गरेका थिए।

 

 

 

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जालाई दोस्रो पक्षले धितो मूल्यांकनका आधारमा घर खरिद गर्न एकमुष्ट र घर निर्माणको हकमा कार्य प्रगतिका आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोस्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले कर्जा प्रवाह गरिने सेनाले जनाएको छ।

 

 

 

सेनाले कर्जा सुविधाका लागि योग्यता पुगेका सकल दर्जाले काठमाडौं उपत्यकामा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाअन्तर्गत रहेको ‘आवास कर्जा कार्यान्वयन एकाइ’ र उपत्यकाबाहिर पायक पर्ने सेनाको युनिट वा कल्याणकारी बोर्डअन्तर्गतका हिताधिकारी कल्याण केन्द्रहरूमा आवेदन दिन सक्ने सेनाले जनाएको छ।