एमसीसी जसरी भएपनि अघि बढ्छ: गृहमन्त्री खाँँण

काठमाडौं। एमसीसी संसदबाट जसरी भएपनि पारित हुने गृहमन्त्री खाँणले बताएका छन्।  उनले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरुलाई पनि सहमतिमा ल्याएर अघि बढाउने उनले बताए।

 

 

 

उनले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्‍याए।

 

 

गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन। र यो नेपालको भौतिक विकासको लागि नै हो।

 

 

 

जलस्रोतको धनी मुलुक नेपालमा अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन भइसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै।

 

 

 

त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोतसाधन चाहिन्छ। र त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दाखेरी सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो। यो फेरि हामीले तिर्नुपर्ने रकम होइन।

 

 

यो त अनुदान हो। अनुदानको रुपमा आउने यो रकमलाई नेपालीहरुले सदुपयोग गर्नुपर्छ। र यसलाई सदुपयोग गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो। त्यसकारणले यो अगाडि बढ्छ।

 

 

 

यसमा सहमत नहुने साथीहरुलाई पनि हामीले विस्तारै सहमत बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ। मिलेर अघि बढाउने। यो देशकै लागि हो। सबै जनताकै लागि हो। त्यसैले सबै पार्टीहरुको सामूहिक प्रतिवद्धताबाट यो अघि बढाउने हो।

 

 

 गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरुको सामूहिक प्रतिवद्धताबाटै अघि बढाउनुपर्ने बताए।

 

 

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताएका छन्। गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

 

 

 

शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने गरी सबै तहको निर्वाचन हुने बताए।