निगमले ९ शीर्षकको लागत जोडेर इन्धनको उपभोक्ता मूल्य कायम

काठमाडौं । नेपाल आयल निगमले खरीद गर्ने मूल्यमा विभिन्न ९ शीर्षकको लागत जोडेपछि उपभोक्ता मूल्यसूची कायम गरिएको छ । निगमका अनुसार लागत जोडेर पेट्रोल पम्प÷विक्री स्थलको मूल्य निर्धारण गरिएको हुन्छ ।

 

 

 

त्यसअनुसार भन्सार शुल्क, सडक मर्मत सुधार, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्य विभिन्न (वातावरण) शीर्षकका कर तथा शुल्क, इण्डियन आयल कर्पोरेशनको डिपोबाट निगमको डिपोसम्म ट्यांकरको ढुवानी तथा बीमा खर्च, प्राविधिक नोक्सानी, निगमको प्रशासकीय खर्च र डिलर्सको कमिसन तथा खर्चहरूको लागत जोडेर उपभोक्ता मूल्य निर्धारण हुँदै आएको निगमले बताएको छ ।

 

 

 

निगमका कार्यवाहक उपकार्यकारी निर्देशक नागेन्द्र शाहले यी शीषकमा मूल्य जोडेर आउने मूल्य नै बजारमा लागू हुने बताए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले १५÷१५ दिनमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यसूची निगमलाई पठाउने गर्छ ।

 

 

 

त्यसमा यी शीर्षकका मूल्य जोडेपछि मात्रै उपभोक्ता मूल्य तयार हुने उनले बताए, जसअनुसार पेट्रोलमा भन्सार शुल्कबापत प्रतिलिटर २५, सडक सम्भार शुल्कबापत ४, पूर्वाधार विकास करबापत १०, मूल्य स्थिरीकरण कोषमा १ रुपैयाँ ३६ पैसा र वातावरण शुल्कबापत १ रुपैयाँ ५० पैसा सरकारलाई निगमले तिर्नुपर्छ ।

 

 

 

यसैगरी मूल्य अभिवृद्धि (भ्याट) १५ रुपैयाँ ६५ पैसा गरी कुल राजस्व प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा तिर्नुपर्छ । यो मासिक ६८ करोड हुने शाहले बताए । डिजेलमा पनि यिनै शीर्षकमा प्रतिलिटर ४० रुपैयाँ ४१ पैसा गरी मासिक ८२ करोड राजस्व तिर्नुपर्छ ।

 

 

यस्तै मट्टीतेलमा प्रतिलिटर २० रुपैयाँ ३० पैसा गरी मासिक ३ करोड, हवाई इन्धनमा मासिक ४ करोड र खाना पकाउने एलपी ग्यासमा २ अर्ब ३० करोड मासिक राजस्व तथा कर बुझाउनुपर्ने निगमले उल्लेख गरेको छ ।

 

 

 

निमगले सरकारलाई उल्लिखित इन्धनबाट १२ अर्ब राजस्व तिर्दै आएको छ । शीर्षकगत लागत जोडेर निगमले जनवरी १ तारिखमा आईओसीबाट प्रतिलिटर ७६ रुपैयाँ ४८ पैसामा खरीद गरेको पेट्रोलको प्रतिलिटर १३६ रुपैयाँमा विक्री गरेको छ ।

 

यी यस्तै डिलेज प्रतिलिटर ७३ रुपैयाँ ६८ पैसामा किनेर लागत जोडेर ११९ रुपैयाँमा विक्री गर्दै आएको छ ।

 

 

 

यद्यपि यी सबै शुल्क तथा लागत जोड्दा भने अहिलेको बजार मूल्यभन्दा पनि बढी रहेको शाहको भनाइ छ । यी शुल्क जोड्दा पेट्रोल प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १२३ रुपैयाँ ५५ पैसा पर्ने निगमको भनाइ छ ।

 

 

निगमले अहिले पकाउने ग्यासको व्यापारबाट सबैभन्दा बढी घाटा भएको उल्लेख गरेको छ । निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ६ सय ४७ रुपैयाँको दरले मासिक २ अर्ब ३० करोड घाटा भएको उल्लेख गरेको छ ।आर्थिक अभियानबाट,