संशोधनवादी र संसदवादीहरुका मुखपत्र जस्ता भए बिग मिडियाहरु :महासचिव मोहन वैद्य (किरण)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेपालका विग मिडियाहरु संशोधनवादी र संसदवादीहरुको मुखपत्र जस्ता भएको टिप्पणी गर्नुभएको छ ।

 

 

 

विग मिडियाहरुले संसद बाहिरका खासगरी क्रान्तिकारी राजनीतिक शक्तिहरुका विचार र समाचारहरुलाई निषेध गर्ने गरेको चर्चा गर्दै क्रान्तिकारीहरुका लागि अहिले पञ्चायत काल जस्तै रहेको विचार व्यक्त गर्नुभएको छ । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो ।

 

 

 

इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न बैठकमा महासचिव किरणले क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायतका राजनीतिक शक्तिहरुले देशैभर दैनिकजसो एमसीसी र भारतीय अतिक्रमणका विरुद्धमा गरिने कार्यक्रमहरुका समाचारहरु यस्ता मिडियाहरुले नदिने गरेको बताउनु भयो ।

 

 

 

उहाँले भन्नुभयो, “संसदबाहिरका राजनीतिक शक्तिका विचार र समाचारहरुलाई यी मिडियाहरुले निषेध गर्ने गरेका छन् । संसदवादी राजनीतिक पार्टीहरुको जस्तै मिडिया र पत्रकारहरुको दलालीकरण तीव्र बनेको छ । हामीलाई अहिले पनि पञ्चायतकाल छ ।”

 

 

कार्लमाक्र्सले गरेको पत्रकारिताको स्मरण गर्दै महासचिव किरणले क्रान्तिकारी पत्रकारहरुले श्रमजीवी सर्वहारावर्गको हक, हित र अधिकारका साथै राष्ट्रिय स्वाधीनताको पक्षमा विचार समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

 

क्रान्तिकारी पत्रकारहरुले आमूल परिवर्तनको पक्षमा जनमत निर्माणकर्ता, संगठनकर्ता, प्रचारकर्ताको काम गर्नुपर्ने बताउनु भयो ।

 

 

 बैठकमा क्रान्तिकारी माओवादीका प्रचार विभागका इन्चार्ज रामसिंह श्रीसले पत्रकारिता किन र कसका लागि गर्ने भन्ने विषयमा क्रान्तिकारी पत्रकारहरु स्पष्ट हुनुपर्ने बताउनु हुँदै क्रान्तिकारीहरुले गर्ने पत्रकारिता सर्वहारावर्गको पक्षमा राज्यसत्ता विरुद्ध गरिने पत्रकारिता भएको बताउनु भयो ।

 

 

 

बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने, पेशागत तथा राष्ट्रिय स्वाधीनताका पक्षमा अन्तरक्र्रिया कार्यक्रम गर्ने, जिल्ला जिल्लामा पेशागत तालिमहरु सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।