विप्लव नेकपाका कार्यकर्ताद्वारा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य कार्यालयका प्रमुखलाई कालो मोसो र जुत्ताको माला

जाजरकोट । भ्रष्टाचार आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई नेपाल कम्युनिनष्ट पार्टी ‘विप्लव’ निकट युवा संगठन नेपालले कालो मोसो दलेर जुत्ताको माला लगाएको छ ।

 

 

सोमबार बिहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको एक टोलीले स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीलाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाएका हो ।

 

 

 

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिँदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ति जारी गरेको छ।

 

 

प्रेस विज्ञप्तिमा ६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेको र कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्ने भनिएको छ ।

 

 

युवा संगठनले निमित्त व्यवस्थापक जैसीले ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

 

 

युवा संगठनले २ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख, एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेसिन खरिदबाट ३४ लाख, अक्सिजन पलान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्चार, स्टेवलाइजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढी रकम भ्रष्टाचार गरिएको बताएको छ ।

 

 

 

 

आफूलाई कारबाही गर्न उनीहरुले लगाएका सबै आरोपहरु गलत र कपोल्कल्पित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले बताए ।

 

 

 

उनले आफूलाई कुटपिट समेत गरिएको बताए । यता जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले स्वास्थ्य कार्यालयमा भएको घटनाबारे अनुसन्धान भइरहेको बताए ।