विप्लव नेकपाको केन्द्रीय समिति बैठकले यस्तो बनायो चुनावी रणनिति

काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको प्रतिवेदनलाई पारित गर्दै यस्तो निर्णय गरेको हो ।

 

 

 

नेता धर्मेन्द्र वास्तोलाका अनुसार पार्टी चुनावमा जाने छैन, तर बहिस्कार पनि गर्ने छैन् ।  महासचिवले प्रस्तुत गरेको दस्तावेज परिमार्जनसहित पास भएकाे उनले बताएका छन् ।

 

 

 

परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं । तर, फेरि हामी चुनाव विरोधी पनि होइन नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।

 

 

 

केन्द्रीय समितिका बहुमत सदस्य चुनावमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा उभिएपछि यस्तो मध्यमार्गी विकल्प खोजिएको हो । बहुमत पक्ष विपक्षमा हुँदाहुँदै यथास्थितिमा विप्लवको प्रस्ताव पारित गरेको भए पार्टीमा विभाजन आउने अवस्था थियो ।

 

 

 

बास्तोलाले पनि यसलाई मध्यमार्गी निर्णयका रुपमा स्वीकार गरे । ‘हो यो मध्यमाार्गी निर्णय नै हो,’ उनले भने, ‘ आफैं चाहिँ चुनावमा नजाने तर त्यस्ता खालका उम्मेदवारलाई सर्मथन गर्ने ।

 

 

तपाईंको पार्टीबाट उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने प्रश्नमा बास्तोलाले भने, ‘हाम्रा सर्मथक र वुद्धिजीवी पनि चुनावमा जान सक्छन् ।’

 

 

 

नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । बहुमत सदस्य प्रस्तावका विपक्षमा उभिएपछि विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्माले विपक्षमा उभिएकाहरुलाई शुक्रबार र शनिबार दिनभर पक्षमा ल्याउन मनाउने कोसिस गरेका थिए। तर, त्यो कोसिस सफल नभएपछि मध्यमार्गी बाटो रोजिएको हो।

अनलाइनखबरबाट,