एसियन कप छनोट: कुवेतसँग नेपाल ४ १ ले पराजित,प्रशिक्षक अलमुताइरी बेहोस

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

 

 

 

घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक(एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

 

 

 

२८औं मिनेटमा फहद अलरेसिदी गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० ले अघि बढाए ।

 

 

 

 

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दा कुवेतको अग्रता ४-० बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दा नेपालले एक गोल फर्कायो ।

 

 

 

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो ।

 

 

 

कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ । नेपालले अंकको खाता खोल्न सकेको छैन । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ ।

 

मैदानमै बेहोस भए प्रशिक्षक अल्मुताइरी

 

 

खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए ।दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए ।

 

 

 

लगत्तै मेडिकल टिमले उनलाई स्ट्रेचरमा राखेर अस्पतालतर्फ लाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।

 

 

 

 

नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेंलो कार्डसमेत देखाइएको थियो ।

 

 

 

पहिलो खेलमा जोर्डनसँग २-० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४-१ गोलअन्तरले गुमाएको छ । लगातार दुई हारसँगै नेपालको एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।