‘मृतक मतदाता’को तथ्याङ्क भयावह

काठमाडौँ । मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं.७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ ।

 

 

तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत् छ ।

 

 

 

झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उहाँको नाम पनि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदाता नामावलीको सूचीमा छ ।

 

 

 

उक्त वडामा कुल दुई हजार ७८६ मतदाता छन् । गत स्थानीय तह निर्वाचनबाट पुनर्निर्वाचित वडाध्यक्ष गङ्गा साहका अनुसार मृत्यु भएका करिब दुई सय मतदाताको नाम मतदाता नामावलीमा छ ।

 

 

 

वडाध्यक्ष साहकै भनाइलाई आधार मान्दा एउटा वडामा मात्रै मतदाता नामावलीमा करिब ७।१७ प्रतिशत मृतक मतदाता छन् ।

 

 

 

मतदाता नामावलीमा वर्षौंअघि मृत्यु भएका मतदाताको नाम अझै सूचीकृत रहेको लक्ष्मीनियाँ गाउँपालिकाको उक्त वडा एकल भने होइन ।

 

 

 

उपत्यकाको ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र महर्जनका अनुसार उक्त पालिकामा पाँच -सात प्रतिशत मृत्यु भएका मतदाताको नाम नामावलीमा सूचीकृत छ ।

 

 

 

गोदावरी नगरपालिकामा कुल मतदाता करिब ५४ हजार छन् । प्रमुखकै भनाइलाई आधार मान्दा कम्तीमा दुई हजार पाँच सय मृत्यु भएका व्यक्ति अझै मतदाताको सूचीमा छन् ।

 

 

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष मिथिलेशकुमार कर्णले उक्त वडामा मृत्यु भएका १४० जनाको नाम मतदाता नामावलीमा सूचीकृत रहेको जानकारी दिनुभयो ।

 

 

उक्त वडामा दुई हजार ३१० जना मतदाता छन् । सूचीमा अटाएका मृतक मतदाताको प्रतिशत ६.१४ हो । यो खबर गोरखापत्र दैनिकमा छ ।