सिंहदरबार जाँदैनन् प्रधानमन्त्री, कहाँबाट चल्दैछ राज्य ?

 

 

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र काठमाडौस्थित सिंहदरबारमा भएपनि सरकारका हरेक गतिविधिहरु प्रधानमन्त्री निवास बालुवाटारबाट हुँदै आएका छन् । सिंहदरबारबाट राज्यका सम्पूर्ण गतिविधिहरु सञ्चालन हुने भनिए पनि सरकारका मन्त्री तथा नेताहरुले आफ्नो सहजताका लागि मुख्य केन्द्र भन्दा बाहिरबाट सरकार सञ्चालन गरिरहेका छन् । जसले सरकारका काम कारबाहीमा सधैंजसो झमेला थपिने गरेको छ ।

सिंहदरबार मुलुकको मुख्य प्रशासनिक केन्द्र हो । जनताका समस्यासँग सरकार खट्ने ठाउँ । तर विगत केही वर्षदेखि सरकारका गतिविधिहरु सिंहदरबारबाट होइन, प्रधानमन्त्री निवास बालुवाटारबाट हुन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन, सबैजसो प्रधानमन्त्री पाहुनाको भेषमा कहिलेकाँही मात्र सिंहदरबार पुग्ने गरेका छन् । त्यसमा पनि आकल–झुकल रुपमा सिंहदरबारमा गरिएको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री सिंहदरबार पुग्ने गर्दछन । अन्यथा सरकारका महत्वपूर्ण र विशेष निर्णयहरु बालुवाटारबाटै स्वीकृत हुने गरेका छन् । सरकारका मुख्य सचिव, सचिव र कर्मचारीहरु पनि मुलुकको प्रशासनिक निकायका फाइल बोकेर बालुवाटार धाउन बाध्य छन् ।

 

जसको असर समग्र देशको राज्य सञ्चालनमा परिरहेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बालुवाटारबाटै राज्य संयन्त्र सञ्चालन गरिरहेका थिए । ओली पनि बिरलै सिंहदरबार पुग्ने गरेका थिए । त्यतिबेला राजनीतिक वृत्तमा ओलीको खुबै आलोचना भएको थियो । तर वर्तमान सरकारले पनि ओली पथलाई नै निरन्तरता दिँदा राज्यको शासन प्रणाली नै दिनानुदिन कमजोर बन्दै गइरहेको कतिपयको भनाइ छ । यसै सन्दर्भमा देशका अधिकार प्राप्त प्रधानमन्त्रीले निवासबाट नभएर कार्यालयबाटै प्रशासनिक कामहरु गर्नुपर्ने पूर्व प्रशासकहरुको भनाइ छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वार्षिक योजना तय गर्नेदेखि विभिन्न मन्त्रालयहरुको निगरानी गर्नुपर्ने प्रधानमन्त्रीको कार्यालयमा, प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति बिरलै हुने गरेको छ । बन्दै गरेका नयाँ नीति, नियम र तिनको प्रभावकारी कार्यान्वयनको प्रगति विवरण कस्तो छ भन्ने कुराको अध्ययन, अनुसन्धान गर्ने निकाय पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हो । तर प्रधानमन्त्री देउवाले कार्यालयमा उपस्थिति नजनाउँदा यी कामहरु समेत प्रभावित भइरहेका छन् । प्रधानमन्त्री देउवा स्वयम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कहिलेकाँही मात्र उपस्थित हुने गरेको सोही कार्यालयका अधिकारीहरुले दाबी गरेका छन ।

 

आफ्नै कार्यालयमा उपस्थिति नजनाउने तर सरकारी निवासबाटै काम कारबाही चलाउँदा यसले राज्यको शासन प्रणाली कमजोर बन्न पुगेको त होइन, भन्ने चिन्ता नागरिकहरुमा देखिएको छ । जनताको करबाट सञ्चालित सरकारले प्रशासनिक ठाउँबाटै सरकारी काम गर्ने दिन कहिले आउला त ?