देशको स्वाधीनता बचाउन युवाहरुले सशक्त भूमिका खेल्नु पर्छ: महासचिव महोन वैद्य (किरण)

काठमाडौं । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न र देशको स्वाधीनता बचाउन क्रान्तिकारी युवाहरु सशक्त रुपमा अघि बढ्नुपर्ने बताउनु भएको छ ।

 

 

क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव किरणले क्रान्ति पूरा भयो भनेर जनतालाई झुक्याउने काम भइरहेको बताउनु भयो ।

 

 

 

उहाँले युवाहरुमा अध्ययनको कमी रहेको चर्चा गर्दै क्रान्तिको कार्यभार पूरा गर्नका निम्ति युवाहरुले अध्ययनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।

 

 

 

भेला सफलताको शुभकामना मन्तव्य राख्दै अन्य वक्ताहरुले एमसीसी पास गरेर अब पुनः स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आवद्ध गरी अमेरिकी सेनाको नेतृत्वमा नेपाली सेनालाई सुम्पिन खोजेको आरोप लगाए ।र, एसपीपी खारेजीका लागि सशक्त रुपमा प्रतिरोध आन्दोलन चर्काउनु पर्नेमा जोड दिए ।

 

 

 

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ एवम् अखिल नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदिशचन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) महासचिव धनेश्वर पोखरेल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विजयराज बज्राचार्य, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

 

युवा लिगको राष्ट्रिय भेलाले शुक्रबार नै बन्दसत्र सम्पन्न गरी नयाँ नीति र नेतृत्व चयन गर्ने बताइएको छ । लिगका अध्यक्ष अमिर महर्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन महासचिव दिलबहादुर कठायतले गर्नु भएको थियो ।