दोहोरो चरित्रले भरिपूर्ण राजनीतिक दल, के बोल्छन्, के गर्छन

काठमाडौं । देश र जनतामाथि कुठाराघात गर्ने राजनीतिक दलहरुको पुरानै शैली हो । विभिन्न निर्वाचनहरुमा जनतालाई आश्वासन बाँढ्दै आएका दलहरु जनताका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न भने सधै पन्छिने गरेका छन् । जनतालाई झुठा आश्वासन बाड्ने तर त्यसलाई पूरा गर्न पहल नथाल्ने प्रवृत्तिले जनता आजित भएका छन् । त्यति मात्र होइन, यिनै दलका नेताहरुले देशको सार्वभौमसत्ता र जनताको हित विपरीका विभिन्न सम्झौताहरुमा पनि हचुवाको भरमा निर्णय गर्दै आएका छन् । जसले जनता शंसकित बनेका छन् ।

 

 

राजनीतिक दल धेरै भएको देश कुन रहेछ भनेर अनुसन्धान गर्ने हो भने नेपाल नै पहिलो नम्बरमा आउन सक्छ । संख्याको हिसाबले यतिधेरै राजनीतिक दलहरु भएको मुलुकमा विकासका मुलहरु फुट्नुपर्ने हो । जनताले आफ्नो माग र आवश्यक्ताका आधारमा दलहरुबाट काम र परिणाम पाउनुपर्ने हो । तर विगतदेखि नै राजनीतिक दलहरुले देश र जनताका लागि चित्तबुझ्दो काम त गरेका छैनन् नै त्यसमा पनि देश र जनतामाथि कुठाराघात गर्ने सम्झौताहरुका लागि हचुवाको भरमा निर्णय गर्दै आएका छन् ।

 

 

विभिन्न राजनीतिक दलहरुमा आवद्ध नेतृत्वले आपसी सहकार्यको धरातलमा टेकेर विभिन्न निर्णयहरु गर्दै आएको र त्यस्ता निर्णयहरुले देश र जनतामाथि नै कुठाराघात गरिरहेको विश्लेषकहरुको दाबी छ । यसले मुलुकको शासन प्रणाली नै संकटमा पुग्न त लागेको होइन भन्ने चिन्ता बढ्न थालेको छ । जनतालाई उपभोग गर्न एउटा कुरा बोल्ने तर व्यवहारमा अर्कै कुरा गर्ने दलहरुको यो प्रवृत्तिले जनतामा वितृष्णा पैदा हुँदै गएको बुझ्न कठिन छैन । राजनीतिक नेतृत्वले बोल्ने एउटा र व्यवहारमा अर्कै गरिरहेको भन्दै राजनीतिक दलका नेताहरुले नै आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ राजनीतिक दलहरुकै कारण जनताले समस्या भोगिरहेको स्वीकार गर्छन् ।

 

अहिले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभामा बजेटसम्बन्धी छलफल चलिरहेको छ । यसै क्रममा नेपाली राजनीतिमा एउटा विवाद पनि सतहमा आएको छ । अमेरिकासँग सैन्य गठबन्धनका लागि गरिने भनिएको एसपीपी सम्झौतालाई लिएर राजनीतिमा तरंग मात्र पैदा भएन विवाद उत्कर्षमा नै पुग्यो । राजनीतिक दलहरु पनि यो सम्झौतालाई लिएर मत विभाजित भएका छन् । यो सम्झौतामा आवद्ध हुन कुन राजनीतिक दलको सक्रियता छ भन्ने विषयमा नयाँनयाँ तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

 

 

जनतालाई उपभोग गर्न असम्भव कुरा पनि बोल्ने तर त्यसलाई पूरा गर्न पहल नथाल्ने प्रवृत्तिले जनता आजित भएका छन् । त्यतिमात्र होइन, यिनै दलहरुले देश र जनताको हितविपरीका विभिन्न सम्झौताहरुमा हचुवाको भरमा निर्णय गर्दै आएका छन् । देश र जनतामाथि पटकपटक कुठाराघात गर्ने यस खालका सम्झौताहरु अनुमोदनमा कुनै न कुनै रुपमा राजनीतिक नेतृत्वको भूमिका देखिन्छ । अहिलेका राजनीतिक दल र दलका नेताहरुबाट देश र जनताको कायापलट हुन नसक्ने विश्लेषकहरुको दाबी छ ।

 

मुलुकको विकास र समृद्धिका लागि राजनीतिक नेतृत्वको सक्रियता हुनुपर्छ । तर नेपालका राजनीतिक दलहरुको सक्रियता देश विकासका लागि होइन, देशलाई कसरी भड्खालोमा हाल्न सकिन्छ भन्नेतिर केन्द्रित भएको देखिन्छ । यसबाट जनतामा विस्तारै राजनीतिक नेतृत्वप्रति वितृष्णा पैदा हुँदै गएको छ ।