ललितपुरमा असार ९ देखि बालबालिकालाई फाइजर खोप दिइने

ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप (फाइजर बायोएनटेक) लगाउने भएको छ ।

 

 

आइतबार पत्रकार भेटघाटका क्रममा स्वास्थ्य कार्यालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जनाएको छ ।

 

 

खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयको दाबी छ ।

 

 

जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यो सङ्ख्या विद्यालयमा सुचिकृत भएका आधारमा तय गरिएको हो ।

 

 

 

यसवाहेक तथ्यांक घटबढ हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक/एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश विस्टले जानकारी दिए ।

 

 

 

उनका अनुसार इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ ।

 

 

यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ ।

 

 

यो खोप ५-११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई दिन मिल्दैन ।

 

 

जिल्लाभरीका बालबालिकालाई पुग्ने खोप छ र यो खोपको दुई मात्रा लगाए मात्रै पुग्नेछ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ ।