नापी कार्यालय पर्साबाट १ लाख २५ हजार घुससहित बिचौलिया पक्राउ

काठमाडौं । पर्सा प्रहरीले नापी कार्यालय पर्साको एक बिचौलियालाई पक्राउ गरेको छ ।

 

 

सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली घर भएका ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् ।

 

 

 

निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका पाण्डे घुस रकमसहित मंगलबार पक्राउ गरिएको हो ।

 

 

 

 

सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पाण्डेलाई रंगेहात पक्राउ गरेको हो ।

 

 

 

 

पक्राउ परेका पाण्डे नापी कार्यालयका कर्मचारीको मिलोमतोमा वर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेका थिए ।