एमालेको अर्थ तथा योजना विभागमा रहेका गभर्नर अधिकारी विवादमा,राजिनामा दिन माग

काठमाडौं। एमाले निकट रहेको दाबी गरिँदै आएका गभर्नर महाप्रसाद अधिकारी औपचारिक रुपमै पार्टीसँग आबद्ध रहेको भन्दै विवादमा तानिएका छन्।

 

 

कुनै पनि सार्वजनिक पदमा रहँदा दलमा आबद्ध हुन र सक्रिय राजनीतिमा लाग्न नहुने कर्मचारी तन्त्रको मूल्यमान्यता विपरीत अधिकारी एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेको आशंकामा उनी विवादमा तानिएका हुन्।

 

 

मंगलबार एमालेको अर्थ तथा योजना विभागलाई पूर्णता दिँदै दोस्रो नम्बरमा एम अधिकारी नाम गरेका व्यक्तिको नाम आएपछि त्यो व्यक्ति गभर्नर अधिकारी नै भएको दाबी गरिएको छ।

 

 

 

गभर्नर अधिकारीको स्थायी घर खोटाङ हो भने एमाले विभागमा नाम सार्वजनिक भएका एम अधिकारीको ठेगाना पनि खोटाङ नै उल्लेख छ।

 

 

वास्तविक नै विभागको सदस्यका रुपमा उल्लेख गर्दा सबैले थापा पाउने हुँदा छोटकरीमा महाप्रसादको अंग्रेजी करण गरेर एम मात्रै राखिएको त्यसै विभागका एक सदस्यले दाबी गरेका छन्।

 

 

 

एमालेसँगको अधिकारीको सम्बन्ध भने निक्कै गाढा देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लगानी बोर्डको अध्यक्ष भएका अधिकारी एमालेकै पालामा गभर्नर नियुक्त भएका थिए।

 

 

 

एमाले समर्थित भएकाले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आफूलाई असहयोग गरेको भन्दै निलम्बन गरेर छानबिन समिति बनाएका थिए। तर सर्वोच्चले उनीमाथि थालिएको छानबिन समिति बदर गर्दै काममा फर्किन बाटो खोलिदिएको थियो।

 

 

एमालेको अर्थ तथा योजना विभागको दोस्रो सदस्य रहेका एम अधिकारी आफू नै हो कि होइन भन्ने बारेमा सार्वजनिक रुपमा केही बताएका छैनन्।