नर्भिकको संरचना हटाउनेबारे बालेन लचिलो,प्राविधिक अध्ययन समिति गठन गरिने

काठमाडौं। नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौँ महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ।

 

 

 

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो।

 

 

मंगलबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशनअनुसार अगाडि बढ्ने सहमति गरे।

 

 

उनले प्राविधिहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताए।

 

 

 

मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताए। उनले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए।

 

 

 

उनले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए। उनले अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताए।

 

 

 

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको दाबी गरे।

 

 

उनले अझै अस्पतालसँग सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको बताए। अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने कुरा भएको जानकारी दिए।

 

 

 

नर्भिक अस्पतालले आफूले कानूनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ।

 

अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ।

 

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ।