म्यादी प्रहरीको छनोट दसैँ अगाडि नै हुने, यस्तो छ, भर्ना कार्यतालिका

काठमाडौँ ।मंसिरमा ४ हुने निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गर्नका लागि दसैँअघि नै म्यादी प्रहरी छनोट गरिने भएको छ।

 

 

मंसिरका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक सुरक्षा पूरा गर्नका लागि प्रहरी प्रधान कार्यालयले दसैँअघि नै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको हो।

 

 

 

हरेका जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैँअघि नै सक्ने र नतिजा दसैँपछि प्रकाशन गरिने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।

 

 

 

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ।

 

 

 

सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ। कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ।

 

 

 

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ।

 

 

 

 

छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ।

 

 

 

उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ।