नेकपामासँगै हुँदा प्रचण्डले घात गरे,मैले अँगालो मारें उनले छुरी रोपे : अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपामासँगै हुँदा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई घात गरेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

 

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीको साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै यस्तो बताएका हुन्।

 

‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ।

 

ओलीले भने, ‘मैले प्रचण्डलाई अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन ।तर प्रचण्डले हात लुकाई लुकाई हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।

 

 

आफू पार्टी र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्छ भन्ने पक्षमा भए पनि प्रचण्डले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको ओलीको दाबी छ।

 

 

‘म एकता, एकीकरण भन्ने, पार्टी आन्दोलन जोगाउनुपर्छ भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने !  ओलीले थपे, ‘कस्तो विषालु दाँत पालेर बसेका रहेछन्। कस्तो सँग मैले एकता गरेको रहेछु।

 

 

आफूले महाधिवेशनसम्म पर्खिए अध्यक्ष बनाउने भनेपनि प्रचण्डले आफूसँग बहुमत पुगेको र बहुमत पुगेकै बेला निकाल्छु भन्दै साधारण सदस्यबाट हटाएको आरोप लगाए।

 

आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।