आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ।

 

एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो।

 

काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ।१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।

 

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ।

नेपाल प्रहरीले ३० वैशाखमा भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो।

 

संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाहिँ ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो।

 

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीले प्रहरी जवानको तलब सरह ४० दिनको पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ पाउने छन्।

 

यस्तै उनीहरुका लागि खद्यान्न वापत ६ हजार रुपैयाँ र तोकिएको पोशाक खरिदका लागि ७ हजार २०० रुपैयाँ पनि दिइने छ।

 

यस्तै मतदानस्थलमा जान आउन यातायात खर्च १ हजार रुपैयाँ र खाजा खर्च ४ दिनका लागि १ हजार २०० रुपैयाँ दिइने छ। यो बाहेक हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले ज्याकेट किन्न थप १ हजार रुपैयाँ पाउने विभागले जनाएको छ।