आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

अहिले प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि विजया दशमीको टीकाको दिन प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावनाका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।