सशस्त्र प्रहरीका असई भारतमा मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् ।सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका हुन् । उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भएका यादव १८ असोजदेखि २१ गतेसम्मका लागि विदामा रहेको गणका प्रमुख एसपी प्रदीप खड्काले जानकारी दिए । उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिए ।

उनको शवलाई भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए ।

‘उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ’ सिंहले भने, ‘शुक्रबार पोष्टमार्टम गरिनेछ ।असई यादव मृत फेला परेको सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।