रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका लगाइयो

काठमाडौं। तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् ।

सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए ।

यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी)ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिएकी हुन् ।

उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिइन्। अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिइन् । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आएकी छन् ।रासस,