आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउछौँ: वामदेव गौतम
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन्।
सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्। निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने उनले बताए।
उनले दुई तिहाइ मत ल्याउन अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।
टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताकोमा जानुपर्ने उनको भनाइ छ। १७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्नुहुँदै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए।
उनले देशमा समाजवाद ल्याउनको लागि नेपाली कम्युनिष्ट पार्टीले दुईतिहाई ल्याउनैपर्ने उल्लेख गरे। उनका अनुसार पार्टीले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ।
