क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजायको माग, आज मुद्धा दर्ता हुँदै

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका विरुद्ध आज अभियोगको माग दाबी सहितको मुृद्धा दर्ता हुने भएको छ।

महानगरीय प्रहरी बृत्त गौशालाले अनुसन्धान गरेर बुझाएको प्रमाण र प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन ।

प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन् ।