बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा दिदै

काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए।

सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ, उनले भने,निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ। उनले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताए।

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदानस्थलको भौतिक स्थितिको स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाका सबै सुरक्षा निकायका प्रुमखले मतदानस्थलको स्थलगत अनुगमन गरेको बताए ।

मतगणनास्थल सुरक्षित छ कि छैन मतदानस्थलको भौतिक अवस्थाको अनुगमन गरेका छौं, उनले भने, विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा तयारी गरिएको छ त्यसैका लागि सुरक्षा निकायका सबै प्रमुखले स्थलगत अवलोकन गर्नुभएको छ ।

निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् भने निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा जुटेको छ ।