सन्दीपको थुनछेक बहस आजदेखि हुने

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज बुधबारदेखि थुनछेक बहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस हुने भएको हो । घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो ।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।