युएईले नेपाललाई दियो १९२ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा युएईले नेपालसामू १९२ रनको लक्ष्य पेश गरेको छ ।

सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको युएई टिम ४३.२ ओभरमा १९१ रनमा अलआउट भयो ।

युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए।

१२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो ।

युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् ।

युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३-३ विकेट लिए । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।

सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।