प्रतिनिधिसभा निर्वाचन: ११४ दल चुनावमा, १०२ दल एकल भिड्ने
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ११४ वटा राजनीतिक दलले भाग लिन पाउने भएका छन् । यसमध्ये १०२ दलले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गर्दै एकल रूपमा निर्वाचनमा जानेछन् भने बाँकी १२ दलले विभिन्न समूह बनाएर ५ वटा संयुक्त चुनाव चिन्ह प्रयोग गर्नेछन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनमा भाग लिनको लागि १२० वटा दलले निवेदन दिएका थिए। १२० मध्ये ११४ दलको निवेदन स्वीकृत भएको हो । ‘१०२ दलले एकल चुनाव चिन्ह लिएर जानेछन् भने १२ दलले विभिन्न समूह बनाएर पाँच वटा निर्वाचन चिन्ह प्रयोग गर्ने गरी स्वीकृत भएका छन्,उनले जानकारी दिए ।
यसरी ११४ दल १०७ वटा चुनाव चिन्हमार्फत प्रतिनिधिसभा निर्वाचनमा भाग लिन तयार छन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत प्रक्रिया पूरा गरिसकेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रक्रिया आइतबारबाट सुरु भएको छ । समानुपातिक प्रणालीमा भाग लिन चाहने दलहरूले मंगलवारसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनको अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ।
आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ, जसमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य रहने आयोगले जनाएको छ।
प्रत्यक्ष तर्फको उम्मेदवारी माघ ६ गते दर्ता हुनेछ। समानुपातिक निर्वाचनमा भाग लिन दलहरूको आयोगमा उपस्थिति बढिरहेको छ।
