यस्तो छ,कर्णाली प्रदेशका १० वटा जिल्लाको चुनावी हिसाब किताब कसले बाजी मार्ला ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता फकाउने अन्तिम प्रयास गरिरहेका छन्।

कर्णाली प्रदेशमा पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न घरदैलो र सभा समारोह गरेर खुशी पार्ने प्रयास गरिरहेका छन्।

२०७४ को निर्वाचनमा हुम्ला बाहेक अधिकांश प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनले जितेको थियो ।

हुम्लामा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर अहिले एमाले र माओवादीको गठबन्धन छैन । कर्णाली प्रदेशमा १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० वटा जिल्ला रहेका छन्।

निर्वाचन आयोगको वेवसाइटमा राखिएको विबरण अनुसार कर्णालीमा कूल मतदाता संख्या ९ लाख ८ हजार ४३३ रहेको छ । जसमा पुरुष मतदाताको संख्या ४ लाख ५९ हजार ४०१ छ । महिलाको संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने अन्यमा २ जना छन् ।

मंसिर १ गते रातिबाट चुनावी प्रचार प्रसार गर्न नपाइने भएकाले चुनावी अभियान उत्कर्षमा पुग्दै गर्दा कर्णालीमा पनि कसले चुनाव हार्ला र कसले जित्ला भन्ने चासो छ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धनले अधिकांश क्षेत्रमा निर्वाचन जित्दा कांग्रेस नील भएको थियो । तर अहिले एमाले र माओवादीको गठबन्धन छैन ।

अहिले काँग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । जसलाई बाम लोकतान्त्रिक गठबन्धन भनिएको छ।

एमालेले पनि केही साना दलहरुसँग गठबन्धन गरेको छ ।कर्णाली प्रदेशका दश जिल्ला मध्ये सुर्खेत र दैलेखमा दुई–दुई वटा निर्वाचन क्षेत्र छन् भने अरु आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र छन् ।

यस्तो छ कर्णाली प्रदेशको चुनावी अवस्था  

सल्यान
कर्णाली प्रदेशको सल्यान जिल्ला एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । २०७४ मा एमाले र माओवादीबीचको गठबन्धनमा भागवण्डा हुँदा यो जिल्ला माओवादी केन्द्रको भागमा परेको थियो ।

अहिले भने यो बाम लोकतान्त्रिक गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । समाजवादीका तर्फबाट गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रकाश ज्वाला उम्मेदवार हुनुहुन्छ ।

एमाले विभाजन अघि ज्वाला एमालेमा हुनुहन्थ्यो । ज्वालालाई गठबन्धनको भर छ भने नेकपा एमाललेका तर्फबाट उम्मेदवार बन्नु भएका राजेन्द्रबीर रायलाई गठबन्धनको डर छ ।

ज्वाला सल्यानमा चिनिएका अनुहारमा पर्नुहुन्छ । सल्यानमा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका टेक बहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर विजयी बन्दा काँग्रेसका राजेन्द्र बहादुर शाहलाई २९ हजार ७६७ मत आएको थियो ।

डोल्पा

डोल्पा पनि सल्यान जस्तै एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।

२०७४ मा एमालेबाट चुनाव जित्नु भएका धनबहादुर बुढा एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादीतिर लागेपछि एमालेले गणेश बहादुर शाहीलाई चुनावी मैदानमा खडा गरेको छ भने समाजवादीबाट बाम लोकतान्त्रिक गठबन्नको साझा उम्मेदवारका रुपमा धनबहादुर नै उम्मेदवार हुनुहुन्छ ।

यहाँ कसले बाजी मार्ने हो त्यो आगामी चुनावी नतिजाले नै देखाउँनेछ । २०७४ मा धनबहादुरले ११ हजार ७६१ मत ल्याएर चुनावी नतिजा आफ्नो पक्षमा पार्दा नोिली काँग्रेसका अंगद बुढालाई ३ हजार १६७ मत प्राप्त भएको थियो ।

मुगु

सल्यान र डोल्पा जस्तै मुगु पनि कर्णाली प्रदेशको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । नेकपा एमाले र बाम लोकतान्त्रिक गठबन्धन दुवैले मुगुमा यसपटक नयाँ अनुहारलाई प्रतिनिधि सभामा टिकट दिएका छन् ।

एमालेले राजबहादुर कार्कीलाई उठाएको छ भने गठबन्धनले साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका ऐन बहादुर शाहीलाई मैदानमा उतारेको छ ।

२०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा यो जिल्ला एमालेको भागमा परेको थियो । त्यतिबेला एमालेका गोपाल बहादुर बमले १३ हजार ३४ मत ल्याएर विजयी बन्दा काँग्रेसका हस्त बहादुर मल्ललाई ९ हजार ८६१ मत आएको थियो । तर अहिले त्यो अवस्ता उल्टिएको छ । गठबन्धनमा काँग्रेस र माओवादी लगायत छन् ।

जुम्ला

एकमात्र निर्वाचन क्षेत्र भएको जुम्लामा यस पटक रोचक चुनावी भिडन्त हुने अनुमान गरिएको छ । एमालेले जुम्लामा रतन नाथ योगीलाई टिकट दिएको छ ।

उता बाम लोकतान्त्रिक गठबन्धनमा जुम्ला माओवादीको भागमा परेको छ । माओवादीकि गोमा कुँवर गठबन्धनको साझा उम्मेदवारका रुपमा हुनुहुन्छ ।

राप्रपाबाट ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) उम्मेदवार बन्नु भएको छ । २०७४ मा माओवादी केन्द्रका गजेन्द्र बहादुर महत २२ हजार १७३ मत ल्याएर विजयी हुनुभएको थियो । काँग्रेसका देवेन्द्र बहादुर शाहीलाई १४ हजार १४९ मत आएको थियो ।

कालिकोट

कालिकोटमा पनि एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा यो जिल्ला माओवादीको भागमा परेको थियो ।

अहिले काँग्रेस सहितको बाम लोकतान्त्रिक गठबन्धनमा पनि यो माओवादीकै भागमा परेको छ । एमालेले अहिले नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ भने बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मदेवारका रुपमा माओवादीका महेन्द्र बहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ।

महेन्द्र कर्णाली प्रदेशको मुख्यमन्त्री पनि भैसक्नु भएको थियो भने उहाँ बिगतमा संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा दुर्ग बहादुर रावतले २१ हजार ११२ मत ल्याएर विजयी बन्दा काँग्रेसका भुपेन्द्र जंग शाहीलाई १६ हजार ४०७ मत आएको थियो ।

हुम्ला

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि एकमात्र निर्वाचन क्षेत्र रहेको छ । २०७४ मा यो जिल्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामाले जित हात पार्नु भएको थियो ।

त्यसबेला काँग्रेसका मंगलबहादुर शाही झिनो मतले लामासँग पराजित हुनुभएको थियो । अहिले बाम लोकतान्त्रिक गठबन्धनमा यो जिल्ला माओवादी केन्द्रको भागमा परेको छ ।

गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादीका छिरिङ डम्डुल लामा भोटे उम्मेदवार हुनुहुन्छ भने एमालेले दल रावललाई मैदानमा उतारेको छ । २०७४ मा छक्क बहादुर लामाले ४ हजार ४९१ मत ल्याएर जित्दा मंगलबहादुर शाहीलाई ८ हजार ४४४ मत आएको थियो ।

जाजरकोट

एक मात्रै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०७४ मा एमाले माओवादी गठबन्धन हुँदा यो जिल्ला माओवादीको भागमा परेको थियो भने अहिले बाम लोकतान्त्रिक गठबन्धनमा पनि माओवादीकै भागमा परेको छ।

माओवादीले विगतकै अनुहार शक्ति बहादुर बस्नेतलाई गठबन्धनको साझा उम्मेदवार बनाएको छ । बस्नेत माओवादीका केन्द्रीय नेता हुनुहुन्छ। उता एमालेले निरज आचार्यलाई उठाएको छ।

२०७४ मा बस्नेतले ३२ हजार २८१ मत ल्याएर काँग्रेसमा राजीव विक्रम शाहलाई पराजित गर्नु भएको थियो । काँग्रेसका शाहलाई २३ हजार २८९ मत आएको थियो।

दैलेख
दैलेखमा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबीच भागवण्डा हुँदा दुबै क्षेत्र एमालेको भागमा परेको थियो ।

यस पटक बाम लोकतान्त्रिक गठबन्धनमा क्षेत्र नम्बर –१ नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर –२ नेपाली काँग्रेसको भागमा परेको छ।

क्षेत्र नम्बर – १ मा एमालेले पुरानै अनुहार रबिन्द्र राज शर्मालाई दोहोर्याएको छ भने बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादीका अम्बर बहादुर थापा मैदानमा हुनुहुन्छ।

२०७४ मा एमालेका शर्माले २३ हजार ७७३ मत ल्याउँदा राप्रपाका दिपक कुमार शाहीलाई १७ हजार २५२ मत आएको थियो।

यस्तै क्षेत्र नम्बर –२ मा एमालेले लक्ष्मी प्रसाद पोखरेललाई टिकट दिएको छ । बाम लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका दिक्पाल कुमार शाही साझा उम्मेदवार हुनुहुन्छ ।

यो क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका राजबहादुर बुढा क्षेत्रीले २३ हजार ३२३ मत ल्याएर निर्वाचिन हुँदा काँग्रेसका शिवराज जोशीलाई १६ हजार ६३४ मत आएको थियो ।

सुर्खेत

दैलेख जस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पनि दुइवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर –१ मा एमाले र बाम लोकतान्त्रिक गठबन्धनबाट यस पटक पुरानै अनुहार दोहोरिएका छन् ।

यो क्षेत्रमा एमालेबाट ध्रुव बहादुर शाही उम्मेदवार हुनुहुन्छ भने काँग्रेसबाट पार्टीका केन्द्रीय उपसभापति समेत रहनु भएका पूर्ण बहादुर खड्का मैदानमा हुनुहुन्छ ।

त्यसैले पनि यो क्षेत्रको निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ । शाही बिगतमा एमाले र माओवादी गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने अहिले एमालेसँग त्यो गठबन्धन छैन ।

तर खड्कासँग अहिले माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धन छ । २०७४ को निर्वाचनमा शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी बन्दा खड्काले ३३ हजार ३७७ मत प्राप्त गर्नुभएको थियो ।

सुर्खेत क्षेत्र नम्बर–२ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका हृदयराम थानी दोहोरिनु भएको छ । उता एमालेले अमृत बहादुर बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ।

२०७४ मा एमालेका नवराज रावतले ३७ हजार ४४७ मत ल्याएर नतिजा आफ्नो पक्षमा पार्दा काँग्रेसका थानीलाई २८ हजार ६४६ मत आएको थियो । एमालेसँग त्यतिबेला माओवादीको साथ थियो । तर अहिले माओवादीको साथ काँग्रेसलाई छ ।

रुकुम पश्चिम

रुकुम पश्चिममा पनि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । यो जिल्लाबाट बाम लोकतान्त्रिक गठबन्धनबाट अर्थमन्त्री समेत रहनु भएका जनार्दश शर्मा उम्मेदवार हुनुहुन्छ ।

बिगतमा एमाले र माओवादीबीच गठबन्धन हुँदा पनि शर्मा नै उम्मेदवार हुनुहन्थ्यो । रुकुममा पश्चिममा एमालेले नन्दराम देवकोटालाई टिकट दिएको छ ।

२०७४ को निर्वाचनमा शर्माले ३४ हजार ४०२ मत ल्याउँदा शर्माका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत मात्रै प्राप्त गर्नु भएको थियो ।