निर्वाचन ‘बहिष्कार’ गर्ने यी सात पार्टीमाथि निगरानी बढाउन उच्चस्तरीय सुरक्षा समितिको निर्देशन

काठमाडौं। उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचित सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचित आयुक्त दिनेशकुमार थपलियासहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल हुन्।

बैठकमा शान्तिसुरक्षा मिलाउने आचारसंहिता पालना गराउने विषयमा छलफल भएको एकजना उच्च सुरक्षा अधिकारीले बताए।

ति अधिकारीले भने–‘चुनाव बहिष्कार गर्ने समूहले विस्फोट गराउन सक्ने हुनाले त्यस्ता समूहलाई कडा निगरानी गर्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ।

मंगलबार निर्वाचन सुरक्षाबारे भएको छलफलमा गृह सचिव, अर्थ सचिव, रक्षा मन्त्रालयका सचिव र निर्वाचन आयोगका सबै आयुक्तहरू सहभागी थिए । सुरक्षा समितिले आचारसंहिता कडाइपूर्वक पालना गराउन गृह मन्त्रालयलाई भनेको छ।

चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन्। निगरानीमा राख्नु पर्ने पार्टीहरू मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी),नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)लगायतका पार्टीहरू रहेका छन्। 

नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) टेक प्रसाद राईका अनुसार प्रहरीले चुनाव बहिष्कार गर्नसक्ने ३१ समूहमाथि निगरानी गरिरहेको छ। बुधवार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट गराएका छन्।

सत्ता गठबन्धनको सभास्थल नजिकै विप्लव समूहका कार्यकर्ता सुमन श्रेष्ठले बोकेर गएको बम आफैँ विस्फोट भएको थियो। विस्फोट हुँदा सुमनको खुट्टामा चोट लागेको भोजपुरका डिएसपी शरत थापा क्षेत्रीले बताए।

भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम शुरु हुँदै गर्दा उनी बम बोकेर सभास्थलमा गएका हुन्। बुधवार दोलखाको चरिकोटमा पनि विस्फोट भएको छ।

यसैबिच, बुधवार आईजीपी धिरज प्रताप सिंहले देशभरका सुरक्षा अधिकारीहरूलाई भिडियो कन्फरेन्स मार्फत ब्रिफिङ गरेका छन्।

आईजीपी सिंहले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्नेहरूविरुद्ध ‘निर्मम’ हुन निर्देशन दिएको ब्रिफिङमा सहभागी एकजना सुरक्षा अधिकारीले जानकारी दिए।