फेसबुकमा राखिएको जन्म मिति बिग्रिएको छ? यस्ता छन् मिलाउने तरिका

काठमाडौं। तपाईंलाई फेसबुकमा भएको आफ्नो जन्म मिति परिवर्तन गर्न मन छ? कतिपय प्रयोगकर्ताले पहिलो पटक फेसबुक साइन-अप गर्दा जन्म मिति हचुवाको भरमा राख्नु भएको होला।

त्यस्‍तै, जन्म मिति सार्वजनिक भएको कारण जन्मदिन नै नभएको दिनमा तपाईंलाई साथीहरूले जन्मदिनको शुभकामना दिइरहेका होलान्।

यस्तो हो भने तपाईंले फेसबुकमा आफ्नो सही जन्म मिति अपडेट गर्न सक्नुहुन्छ। योसँगै फेसबुकमा राखेको जन्म मिति क-कसले देखोस् भन्ने चाहनुहुन्छ, त्यो पनि मिलाउन सकिन्छ।

फेसबुकमा जन्म मिति कसरी परिवर्तन गर्ने?

-सुरूमा फेसबुक लगइन गरेर आफ्नो प्रोफाइलमा जानुहोस्।

– त्यहाँ तपाईंले इडिट प्रोफाइल देख्न सक्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्।

– यो पृष्ठको सबैभन्दा अन्तिममा इडिट योर अबाउट इन्फोु भन्ने देखिन्छ। त्यसलाई थिच्नुहोस्।

– अब तपाईंले यो पृष्ठबाट आफ्नो सम्पूर्ण जानकारीहरू सम्पादन गर्न सक्नुहुन्छ। (यो पृष्ठमा सेटिङ्सभित्र रहेको प्रोफाइल इन्फर्मेसन भन्ने खण्डबाट पनि पुग्न सकिन्छ।)

– यो पृष्ठमा तपाईंले वर्क (काम), एजुकेसन (पढाई), कन्ट्याक्ट इन्फो (सम्पर्क), बेसिक इन्फो (सामान्य जानकारी) लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसमध्ये, बेसिक इन्फोको दायाँपट्टी इडिटु लेखिएको अक्षरमा थिच्नुहोस्।

– अब देखिने पृष्ठबाट तपाईंले आफ्नो जन्म मिति सम्पादन गर्न सक्नुहुन्छ। फेसबुकमा जन्म मिति तारिखमा अपडेट गर्नुपर्छ।
मिति अपडेट अथवा सम्पादन गरेपछि यही पृष्ठबाट तपाईंले जन्म मिति क-कसले देख्न मिल्छ भन्ने बनाउन सक्नुहुन्छ। यसको लागि डेट अफ बर्थु र बर्थ इयरु लेखेको सबैभन्दा दायाँपट्टी विभिन्न विकल्पमध्ये एउटा चयन गर्न सक्नुहुन्छ।

पब्लिक रोज्नुभयो भने फेसबुक प्रयोगकर्ता सबैले तपाईंको जन्म मिति (दिन र वर्ष) हेर्न मिल्छ। फ्रेन्ड्स भन्ने विकल्प रोज्नुभयो भने तपाईंको फेसबुक साथीहरूले मात्रै तपाईंको जन्म मिति हेर्न मिल्छ।

त्यस्तै, फ्रेन्ड्स अफ फ्रेन्ड्स राख्नुभयो भने तपाईंको फेसबुक साथीको पनि साथीले तपाईंको जन्म मिति हेर्न मिल्छ। अन्तिममा देखाइने अन्ली मी भन्ने विकल्प चयन गर्नुभयो भने तपाईंको जन्म मिति अन्य प्रयोगकर्ताले हेर्न मिल्दैन।

यसरी तपाईंले फेसबुकबाट आफ्नो जन्म मिति सम्पादन गर्न सक्नुहुन्छ। फेसबुकमा प्रयोगकर्ताले आफ्नो जन्म मिति तीन पटकसम्म परिवर्तन गर्न मिल्छ।

जन्म मिति परिवर्तन गर्ने विकल्प नदिएको खण्डमा तपाईंले फेसबुकको कस्टमर सपोर्ट टिमसँग सम्पर्क गर्नुपर्ने हुन्छ। जुन सेटिङ्सको कन्ट्याक्ट एन्ड बेसिक इन्फोु भित्र रहेको कन्ट्याक्ट असुबाट गर्न सकिन्छ।