कर्णाली प्रदेशमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान,सोमबारदेखि मतगणना सुरु हुने

काठमाडौं। आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान कर्णालीमा करिब सम्पन्न भएको छ । केही स्थानमा छुट्पुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन अधिकारीहरुले बताएका छन्।

हुम्लाका केही मतदान केन्द्रमा झडप भएपनि मतदान सम्पन्न भएको छ भने सुर्खेतको क्षेत्र नम्बर १ को सिम्तामा मतदान स्थगित भएको छ।

सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो। प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभा तर्फको एकसय मत खसेपछि विवाद उत्पन्न भएको थियो।

विवाद समाधानका लागि सर्वदलीय छलफल जारी रहेको छ । हुम्लाको सर्केगाड र चङ्खेलीमा झडपकै बीचमा पनि मतदान सम्पन्न भएको छ।झडप नियन्त्रण लिनका लागि हवाई फायर समेत गर्नुपरेको थियो ।

झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका छन् । त्यो बाहेक अन्य ठाउँमा शान्तिपूर्ण मतदान रहेको जिल्ला निर्वाचन अधिकारीहरूले बताएका छन् ।

मतदान सम्पन्न भएर अहिले मत पेटीकाहरु ढुवानी गर्ने कार्य भइरहेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।

६० प्रतिशत मत खस्यो

१० लाख ८ हजार ४०३ मतदाता रहेको कर्णालीमा झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ । ३२ हजार ८५७ मतदाता संख्या रहेको हुम्लामा ६२ प्रतिशत, २२ हजार ७७२ मतदाता रहेको डोल्पामा ५२ प्रतिशत मत खसेको छ ।

२ लाख ४३ हजार ६१४ मतदाता रहेको सुर्खेत जिल्लामा जम्मा ६० प्रतिशत मत खसेको छ । यस्तै १ लाख ५८ हजार ९५८ मतदाता संख्या रहेको दैलेखमा ६९ प्रतिशत, १ लाख ३ हजार ३६३ मतदाता रहेको जाजरकोटमा ६२ प्रतिशत, ३५ हजार ४८५ मतदाता रहेको मुगमा ६४ प्रतिशत र ८० हजार ७३३ मतदाता रहेको कालिकोट ५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत चालिसेले रातोपाटीलाई बताए ।

यस्तै १ लाख ४ हजार २८० रहेको रुकुम पश्चिममा झन्डै ५० प्रतिशत र यस्तै जुम्लाको भने मत परिणाम आउन आउन नसकेको उनले बताए । १ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । यो भनेको कुल संख्याको ५३।२७ प्रतिशत हो ।

उनले स्थानीय तहमा भन्दा १० प्रतिशत कम मत खसेको आकलन गरे । ‘स्थानीय तहमा निर्वाचनमा प्रदेशभर कूल मतदाता संख्याको ७० प्रतिशत मत खसेको थियो,’ उनले भने, ‘यो पटक ६० क्रस हुन मुस्किल छ, अहिलेसम्मको प्रारम्भिक नतिजाअनुसार ६० प्रतिशत मत खसेको आकलन हाम्रो छ ।’

मत गणना सोमबारदेखि

चालिसेका अनुसार कर्णालीका कुनैपनि जिल्लामा आजै मत गणना हुने अवस्था छैन । त्यसैले कुनै जिल्लाको सोमबार र केही जिल्लाको मंगलबारदेखि मात्रै मत गणना सुरु हुने उनले बताए ।

उनले भने, ‘उपल्लो डोल्पा लगायतका ठाउँहरूदेखि हेलिकप्टरदेखि मत पेटीका ल्याउनुपर्ने हुन्छ त्यसैले पनि सबै क्षेत्रको मत पेटिका ल्याउन समय लाग्ने देखिन्छ ।