अवैध कलेजको ठगी धन्दा,विद्यार्थीको बिचल्ली

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा दुई तले भवनमा सुवाल इन्टरनेशनल कलेजको बोर्ड राखेर विद्यार्थी भर्ना प्रक्रिया र पठनपाठन नै सुरु भयो। तर, यसबारे न वडा कार्यालयले थाहा पायो न नगरपालिकालाई।

सूर्यविनायक नगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखाकी अधिकृत उल्झन अधिकारी सुवाल इन्टरनेशनल कलेज भक्तपुर नगरपालिकामा पर्ने जिकिर गर्छिन्।

यसो भनेर उनी पन्छिनुका कारण उक्त कलेजले आफ्नो कार्यालय भक्तपुर नगरपालिका– १ राख्नु हो। जबकी, कलेज सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ मा छ।

वडाध्यक्ष राजकुमार जोशी भने वडा वा नगरपालिकामा दर्ता नै नभएकाले कलेजको वैधानिकताबारे आफू प्रष्ट नभएको बताए । यस्तै, भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ठगी गरेको कुरा सुनेपछि बुझ्न खोज्दा कलेजको कार्यालय भएको घर व्यक्तिगत प्रयोजनको लागि बनाएको र त्यसको धनी लक्ष्मण सुजखु रहेको थाहा पाएको बताए।

केही वर्ष पहिले कलेज सञ्चालनको विषय आएको तर, आवश्यक कागजातको अभावमा स्वीकृति नदिएको सम्झिदै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भने, त्यसपछि के भयो, मलाई थाहा भएन।

सुवाल इन्टरनेशनल कलेजबारे शिक्षा मन्त्रालय, कुनै विश्वविद्यालय, प्राविधिक क्षिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी) लगायत निकायलाई पनि केही जानकारी थिएन। कलेज दर्ता, सञ्चालन अनुमति वा सम्बन्धन नलिई विद्यार्थी भर्ना गरेर शुल्क असुलेको सार्वजनिक भएपछि सम्बन्धित निकायहरुले यसबारे अध्ययन थालेका छन्।

सुवाल इन्टरनेशन नामको कलेजले सीटीईभीटीकै कोर्सअनुसार एचए (हेल्थ असिस्टेन्ट) पढाउन भर्ना लिएको सुनेको सीटीईभीटीका प्रवक्ता विनोद बडालले बताए।

त्यो सही हो भने सरासर ठगी हो, कारबाही हुन्छ’, उनले भने, ‘कलेजको ठगी धन्दाबारे समाचार सार्बजनिक भएपछि सम्बन्धित निकायहरुले अध्ययन थालेका छन्।

सुवाल इन्टरनेशन कलेजको नाममा रहेको वेबसाइटमा डा. प्रकाश सुवाल प्रिन्सीपल छन्। कलेजले अमेरिकाको कोर्सेरा, अमेरिकन इन्ष्टिच्युट अफ एक्सटेन्डेड स्टडिज र बेलायतको एनसीसी एजुकेशनबाट सम्बन्धन लिएको वेबसाइटमा उल्लेख छ। जबकी, शिक्षा मन्त्रालयले विदेशी सम्बन्धनमा कलेज खोल्न २०७४ देखि नै रोक लगाएको छ।

त्यस्तै, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको प्लस टुको लागि राष्ट्रिय परीक्षा बोर्ड र आइक्यानबाट सम्बन्धन लिएको वेबसाइटमा उल्लेख छ । नर्सिङ, फार्मेसी र एचए पठनपाठनको सम्बन्धन दिने निकाय सीटीईभीटीले मात्र हो, तर २०७२ यता निजी कलेजलाई सम्बन्धन दिन रोकेको छ ।

सुवाल इन्टरनेशन नामको कलेज पठनपाठनको त कलेज सञ्चालनको लागि समेत कतैबाट स्वीकृति लिएको नपाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

‘कलेज सञ्चालनको लागि प्रक्रियामै नआएको प्रारम्भिक अध्ययनमा देखियो’, उनले भने, ‘तर, यो कलेजले चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रमहरुमा भर्ना लिएको थाहा भएको छ। यसमा आवश्यक कारबाही हुन्छन् नै।

प्रवक्ता शर्माका अनुसार, चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार स्वीकृति अनिवार्य हुन्छ। नर्सिङ, एचए, फार्मेसी पठनपाठनका लागि सीटीईभीटीको सम्बन्धन तथा चिकित्सा शिक्षा आयोग र मन्त्रालयको सहमति चाहिन्छ।

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डा। भोजराज काफ्ले कलेजले स्वीकृतिका लागि प्रक्रिया नपु¥याई विद्यार्थी भर्ना गरी ठगी गरेकोले आवश्यक कारबाही गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बताउँछन्।

उनी भन्छन् ‘कलेजले आवश्यक प्रक्रिया नपु¥याई विद्यार्थी भर्ना गरेको पाइएको छ । यो ठगी भएको हो भन्ने हाम्रो निष्कर्ष भएकोले भक्तपुर जिल्ला प्रशासनलाई आवश्यक कारबाही गर्न पत्राचार गरेका छौं।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी माधवप्रसाद शर्माले आयोगको पत्र आएको तर छलफल हुन बाँकी रहेको बताए।

उनले भने ‘चिकित्सा शिक्षा आयोगबाट स्वीकृति नलिएको कलेजले स्नातक तह अध्यापनको लागि भर्ना विज्ञापन गरेको भन्दै आवश्यक कारबाही गर्न भनेर पत्र आएको छ तर छलफल गर्न पाएका छैनौं।

अवैध कलेज सञ्चालनका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा अनुसन्धान गरिरहेको जनाएको छ।हाल कलेजको टेलिफोन उठ्दैन भने प्रिन्सिपलको फोन स्वीच अफ छ।

विद्यार्थीबाट मनपरी शुल्क असुली

सुवाल कलेजले पीसीएल नर्सिङका लागि ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावक बताउँछन्। तीन वर्षको कोर्सको लागि जम्मा शुल्क भने ३ लाख ५० हजार भनिएको छ।

कर्णालीका एक अभिभावक सीटीईभीटीले लिएको प्रवेश परीक्षामा वैकल्पिकमा नाम निस्किएकाले अरु कलेजमा भर्ना गर्न नमिलेर बसिरहेको बेला गाउँका अरुले पनि त्यहाँ पढ्ने भन्ने थाहा पाएपछि आफ्नी बहिनीले भर्ना गरेको उनी बताउँछन्।

६९ हजार रुपैयाँ तिरेर भर्ना गरेको कलेज अहिले नक्कली हो भन्ने सुनिँदैछ’, उनी भन्छन् ‘कलेजले सार्वजनिक विज्ञापन नै गरेर भर्ना लिदा सरकारले केही भनेन । हामीले अब के गर्ने, बडा अन्योल भएको छ।

कलेजमा भर्ना भएका विद्यार्थीमध्ये अधिकांश कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका छन्। कलेजकै होस्टलमा बसेकी सुदूरपश्चिमकी एक विद्यार्थी भन्छिन् ‘अहिलेसम्म सबै राम्रै थियो तर कलेज नै नक्कली भएको भनेर हिजोदेखि चलेको हल्लाले तनाव भइरहेको छ।

सीटीईभीटीको नर्सिङ प्रवेश परीक्षाको मेरिट लिस्टमा नपरेपछि सुवालमा जाँदा भर्ना लिने भएपछि भर्ना भएको उनले बताइन्। नर्सिङ, एचए, फार्मेसीलगायत विषयमा भर्नाका लागि सीटीईभीटीले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने व्यवस्था छ। एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले मेरिटका आधारमा भर्ना हुन पाउँछन्।

उनकाअनुसार कलेजले त्रिविबाट सम्बन्धन लिने प्रक्रियामा रहेको र केही समयमा पूरा हुने बताएको थियो। ‘कलेजको वेबसाइट र विभिन्न सञ्चार माध्यममा आएको विज्ञापन हेरेपछि विश्वस्त भएर सबै भर्ना भएका हौं’, ती छात्राले भनिन्।

आफूले हालसम्म एक लाख ५० हजार शुल्क तिरिसकेको उनले बताइन्। उनका अनुसार कलेजले छात्राका लागि दुई र छात्रका लागि एउटा गरी तीनवटा होस्टलमा विद्यार्थी राखेको छ।

नर्सिङ, फार्मेसी र एचएका गरी करिब २४० विद्यार्थी भर्ना भएका छन्।म चाहिँ घलाटेको पान्डु बजारमा रहेको कलेजको छात्रा होस्टलमा बसेकी छु’ ती छात्राले भनिन्,होस्टेलको मासिक शुल्क १० हजार रुपैयाँ छ।

जनकपुरकी अर्की छात्रा भन्छिन्, ‘कलेजले कानुनी प्रक्रिया नै नपुर्याएको भए यत्रो होर्डिङ बोर्ड राखेर भर्ना लिँदा किन सरकारले नरोकेको होला । कलेज ‘फ्रड’ नै हो भने हाम्रो भविष्य के हुन्छ।

कलेजले गत साता पनि इन्जिनियरिङ, चिकित्सा, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बीबीएस, कानुन, पत्रकारिता, कृषि, वनविज्ञानलगायतको स्नातक तहको भर्ना सम्बन्धी विज्ञापन गरेको छ।

चिकित्सा शिक्षा तर्फ स्नातक तहको पठनपाठन गराउन ३०० शय्याको अस्पताल चाहिन्छ, जुन सुवाल कलेजसंग छैन।