समानुपातिकतर्फ १ करोड ४ लाख मत गन्दा,एमालेको २७ लाख ८३ हजार नाघ्यो,कुन दलको कति?

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ। मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बन्ने पक्का भएको छ।

समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार जसमध्ये एमालेले २७ लाख ८३ हजार ३ सय ८७ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मत प्राप्त गरेको छ। 

यस्तै माओवादी केन्द्रले ११ लाख ६१ हजार ८ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २ सय ५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४३,जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ८५, एकीकृत समाजवादी २ लाख ९४ हजार १०० मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १ सय ६५ क्षेत्रमध्ये १ सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस ५५ स्थानमा, एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन्।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।