कलेजले निष्कासन गरेपछि झुन्डिएको अवस्थामा फेला परेकी चौधरीको उपचारको क्रममा मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ।

सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घरमा बुधबार बिहान ९ बजेतिर उनी आफ्नै कोठामा झुन्डिएकी रहिछन्,उनले भने, ‘त्यसपछि अर्धचेत भएकी उनलाई परिवारले पाटन अस्पताल पुर्‍याएको थियो।

पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको एसपी शाहीले बताए।

उनका अनुसार चौधरी केही समय अघि मात्रै स-परिवार घर गएकी थिइन्। त्यसपछि मंसिर छ गते काठमाडौं फर्किएर बुधबार कलेज पनि गएकी थिइन्।

लामो समयपछि उनी हिजो कलेज गएकी रहिछन्। कलेजमा अनुशासन विभागका प्रमुखले केही साेधेका रहेछन्। यो कुरा अनुसन्धानको विषय रहेको छ, उनले भने, सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको रहेछ।

कलेजले ती शिक्षकलाई निलम्बन गरेको समेत उनले बताए।चौधरीको शव पोस्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।