एउटा परजीवी पार्टी जो अरुको भोट चुसेर बाँच्यो,त्यो पार्टीको कुन निर्वाचनमा क्षेत्रमा कस्तो अवस्था ?

काठमाडौं। गठवन्धन गरेर कांग्रेस र माओवादीले काँध थापिदिएको थिएन भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले एक सीट पनि नजित्ने तथ्यांकले देखाएको छ। एस पार्टीले प्रत्यक्षमा १० सीट जितेको छ। १० मध्ये कुनै पनि सीट माधवको पार्टीले आफ्नै बुँताले जितेको देखिँदैन।

माधवको पार्टीले समानुपातिकमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टीको मान्यता हासिल गर्न सकेन। यो पार्टीले १८ क्षेत्रमा उम्मेदवारी दिएको थयो। १८ उम्मेदवारले पाएको कूल मतभन्दा समानुपातिकमा कलमले पाएको मत घटी छ।

यसको अर्थ हो– नेकपा एस गठवन्धनको भोट चुसेर मात्र बाँच्न सक्यो। त्यसैले कांग्रेस र माओवादीका कैयन नेताहरुले नेकपा एसलाई परजीवी पार्टी भन्दै आलोचना समेत गरेका छन्।

नत्र, माधवले पनि हार्ने

माधवको १० सीट आउनुमा मुख्य गरी कांग्रेसको भूमिका भएको चुनावी तथ्यांकले देखाउँछ । १० सीट आउनुमा माओवादीको कुनै भूमिका देखिँदैन । किनभने माधवको पार्टीले जितेको दसवटै सीटको समानुपातिकमा कांग्रेस अगाडि छ।

माधव नेपालले रौतहट क्षेत्र नम्बर १ बाट ३३ हजार ५२२ मत ल्याएर जित्नुभयो। यो क्षेत्रमा उहाँको पार्टीको वास्तविक अवस्था के छ त ? समानुपातिकको मतले देखाउँछ । यो क्षेत्रमा माधवको पार्टीको कलम चिन्हले सिर्फ नौ हजार ५७८ मत ल्याएको छ।

आफ्नो पार्टीको वास्तविक भोटभन्दा २३ हजार ९४४ भोट धेरै ल्याएर जित्नुभयो। कांग्रेस र अरुको भोट नगएको भए माधवले चुनाव जित्न सम्भव थिएन। यो क्षेत्रमा माओवादीको भोट सिर्फ दुई हजार ७९१ छ। यो तथ्यांकले के प्रष्ट पार्छ भने माधवले कांग्रेसको निगाहा र भोटले चुनाव जित्नुभएको हो।

माधवकै हालमा किसान र प्रेमबहादुर

माधवको पार्टीका अर्का सांसद् कृष्णकुमार श्रेष्ठ किसान बारा ४ बाट ३० हजार ३४१ मत ल्याएर निर्वाचित हुनुभयो । यो क्षेत्रमा पनि कलमको हालत पतला देखिन्छ। समानुपातिकमा यो क्षेत्रमा कलमले चार हजार ६९१ मत मात्र ल्याएको छ।

अरु पार्टीको २५ हजार ६५० मत थपिएर कृष्णकुमार निर्वाचित हुनुभएको प्रष्ट देखिन्छ। गठवन्धन थिएन भने कृष्णकुमारको हालत पनि माधवकै जस्तो हुने रहेछ। अर्थात्, निश्चित रुपमा हार्नुहुने थियो।

डोटीमा पनि कलमको हालत उस्तै छ। यहाँ कलमका उम्मेदवार प्रेमबहादुर आले २७ हजार २१० मत सहित विजयी हुँदा कलममा दुई हजार ३७३ मत मात्र खसेको छ। यहाँ माओवादी र कांग्रेसको मत थपिएकाले प्रेमबहादुर विजयी हुनुभएको प्रष्ट देखिन्छ। गठबन्धन नभएको भए प्रेमबहादुरको हालत पनि माधवको जस्तै हुने देखिएको छ।

राजेन्द्र, मेटमणि र शेरबहादुरलाई माओवादीको पनि योगदान

धादिङ १ बाट कलमबाट राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँलाई चाहिँ कांग्रेसका साथै माओवादीको पनि राम्रै योगदान भएको मान्न सकिन्छ।

किनभने यो क्षेत्रमा कांग्रेसले समानुपातिकमा १६ हजार र माओवादीले १५ हजारभन्दा केही बढि मत ल्याएको छ। जबकी समानुपातिकमा कलमले सिर्फ ६ हजार ३५ मत मात्र पाएको छ।

दाङ २ बाट मेटमणि चौधरीले २६ हजार ५७६ मत ल्याएर जित्नुहुँदा समानुपातिकमा कलमको तीन हजार २१८ मत मात्र आएको छ । यहाँ कांग्रेसले १५ हजार र माओवादीले ११ हजार भन्दा धेरै मत ल्याएको छ। अर्थात्, राजेन्द्रलाई झैं मेटमणिको विजयमा कांग्रेस बाहेक माओवादीको पनि राम्रै योगदान देखियो।

अछाम १ मा माधवको पार्टीले समानुपातिकमा पाएको मत दुई हजार ७४७ मत पाएको छ तर कलमका विजयी उम्मेदवार शेरबहादुर कुँवर १९ हजार ५३४ मत सहित विजयी हुनुभयो।

यहाँ शेरबहादुरलाई जिताउनमा कांग्रेस र माओवादी दुबैको योगदान देखिएको छ । समानुपातिकमा कांग्रेसले १४ हजार बढी मत ल्याउँदा माओवादीले सात हजार भन्दा केही बढि मत पाएको छ।

बझाङबाट कलमका उम्मेदवार भानुभक्त जोशी २८ हजार ४१३ मत सहित निर्वाचित हुनुभयो। जहाँ कलम चिन्हले पाँच हजार एक मत मात्र पाएको छ। भानुभक्त कांग्रेससँगै माओवादीले राम्रो योगदान गरेको देखिन्छ। समानुपातिकमा कांग्रेसले १९ हजार बढी मत पाउँदा माओवादीले आठ हजार बढी मत पाएको छ।

धनबहादुर र प्रकाशलाई कांग्रेस भन्दा माओवादीको योगदान बढी

डोल्पामा कलमको समानुपातिक मत एक हजार ८२४ मात्र पाएको छ तर कलमबाट विजयी धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याउनुभएको छ। धनबहादुरको विजयमा कांग्रेसका साथै माओवादीको पनि राम्रो योगदान देखिएको छ। समानुपातिकमा कांग्रेसले तीन हजार भन्दा केही बढी मत ल्याउँदा माओवादीले चार हजार बढी मत पाएको छ।

सल्यानमा कलमले पाँच हजार ९७० मत ल्याउँदा त्यसका उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०७ मत ल्याएर जित्नुभयो। यहाँ माओवादीले समानुपातिकमा २१ हजार मत ल्याउँदा कांग्रेसले १९ हजारभन्दा केही बढी मत ल्याएको छ।

समानुपातिकमा माओवादीभन्दा कलम अघि

दैलेखमा कलमका अम्मरबहादुर थापा १८ हजार २९७ मत ल्याएर निर्वाचित हुनुभयो । यो मात्र यस्तो क्षेत्र हो जहाँ समानुपातिकमा माओवादीले भन्दा कलमले धेरै मत पाएको छ।

यहाँ माओवादीले दुई हजार भन्दा केही बढी मत पाउँदा कलमले तीन हजार १६६ मत पाएको छ । कांग्रेसले १५ हजार बढी मत ल्याएको छ । अर्थात्, दैलेखमा पनि कलमलाई कांग्रेसले पूर्ण रुपमा भरथेग गरेको देखिन्छ।

माधवका उम्मेदवारले हारेको क्षेत्रमा पार्टीको अवस्था

माधवको पार्टीका आठ उम्मेदवारले हार व्यहोरेका छन्। हारेका क्षेत्रमा पनि माधवको पार्टीले राम्रो मत बटुल्न नसकेको तथ्यांकले देखाउँ छ। जितेको ठाउँमा पनि पार्टीले राम्रो मत ल्याएको छैन। हारेको ठाउँमा नआउनु स्वभाविक नै मान्न सकिन्छ । तर, हारेकामा कस्ता जनमत बटुल्यो त यो चासोको विषय हो।

इलाम १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल २३ हजार ८९ मत ल्याएर हार्नुभयो। जबकी यहाँ समानुपातिक तर्फ कलम चिन्हमा आठ हजार २१ मत मात्र आएको छ। कांग्रसले १६ हजार बढी मत पाएको छ । यहाँ समानुपातिकमा कलम भन्दा माओवादी पछि परेको छ । माओवादीले एक हजार ६४९ मत पाएको छ।

उदयपुर २ बाट एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा १२ हजार ८९३ मत सहित हार्नु भयो। खतिवडालाई कांग्रसको भन्दा माओवादीले धेरै साथ दिएको थियो । कांग्रसको एक पक्षले बागी उम्मेदवारी दिएको थियो।

यहाँ कलम चिन्हले समानुपातिकमा दुई हजार २३५ मत मात्र पाएको छ। यहाँबाट के प्रष्ट हुन्छ भने माओवादी र कांग्रसको केही मत जगन्नाथलाई आएको हो । यहाँ समानुपातिक तर्फ कांग्रेसले १० हजार ५१५ र माओवादीले सात हजार ४०६ मत ल्याएको छ।

कसैलाई गठवन्धनको भोट, कसैलाई चोट

काठमाडौं ८ बाट कलमका उम्मेदवार मन्त्री जीवनराम श्रेष्ठको हार भएको छ। उहाँले चार हजार ८८१ मत मात्र ल्याउनु भयो। यहाँ कलमले समानुपातिकमा एक हजार १६९ मत ल्यायो । यहाँ श्रेष्ठलाई कांग्रस र माओवादीले राम्रो योगदान गरेको छ।

तीनै पार्टीको समानुपातिक मतको योगफल भन्दा प्रत्यक्षमा श्रेष्ठले ल्याएको मत बढी देखिन्छ। यहाँ कांग्रेसले चार हजार ८०७ र माओवादीले पाँच सय नौ मत पाएका छन् । तीनै पार्टीको मतको योगफल ६ हजार ४८५ हुन्छ । जीवनरामले गठवन्धनको सबै भोट नपाएको छर्लङग देखिन्छ ।

ललितपुर २ का उम्मेदवार कृष्णलाल महर्जन आठ हजार २६४ मत सहित हार्नु भयो। जहाँ कलम चिन्हमा एक हजार ५७८ मत आएको छ।

मकवानपुर २ मा पूर्वमन्त्री विरोध खतिवडाले पनि नराम्रो हार व्यहोर्नु भएको छ। ३० हजार ४३२ मत ल्याएर उहाँ पराजित हुँदा कलमले यहाँ दुई हजार ५९० मत मात्र पाएको छ। यसबाट के बुझिन्छ भने कांग्रस र माओवादीले राम्रै योगदान गर्दा गर्दै पनि उहाँले हार्नुभएको मान्न सकिन्छ । यहाँ कांग्रेसले २१ हजार र माओवादीले १३ हजार बढी मत पाएका छन्।

कास्की २ का श्रीनाथ बरालको अवस्था पनि नाजुक देखियो। १० हजार मत पनि कटाउन नसक्नु भएका बरालले नौ हजार ६५९ मत ल्याएर हार व्यर्होनु भयो। यहाँ कलम चिन्हले एक हजार १७७ मत पाएको छ।

त्यस्तै गुल्मी २ मा रामकुमारी झाँक्री २६ हजार ४४१ मत ल्याएर पराजित हुनु भयो। यहाँ कलमले एक हजार ६०३ मत मात्र पाएको छ । झाँक्रीलाई गठबन्धनका अन्य पार्टीले राम्रो योगदान गरेको देखिन्छ। यहाँ गठवन्धनका तीन वटा पार्टीले समानुपातिकमा पाएको मत भन्दा प्रत्यक्षमा रामकुमारीले ल्याएको मत बढी छ।

यहाँ कांग्रेसले १८ हजार र माओवादीले पाँच हजार भन्दा बढी मत पाएका छन्। तीन पार्टीको समानुपातिक मतको योगफल २५ हजार ४९१ हुन्छ। यसबाट के बुझिन्छ भने कांग्रस र माओवादीको राम्रै योगदान हुँदा हुँदै पनि रामकुमारीले पराजित हुनुपर्यो।

पाल्पा २ मा पनि सोमप्रसाद पाण्डेको अवस्था त्यस्तै देखियो। पाण्डे २४ हजार ८९९ मत ल्याएर पराजित हुनुभयो। यहाँ कलमले एक हजार ३०६ मत पाएको छ।

गठबन्धन बिना माधवको पार्टी

यसबाट के प्रष्ट हुन्छ भने गठबन्धन नगरेको भए माधवको पार्टीको हरिबिजोक हुन्थ्यो। कलममा निकै कम मत खसेको क्षेत्रमा पनि अन्य पार्टीको मतले माधवका उम्मेदवारले जितेको तथा प्रतिस्पर्धी बनेको तथ्यांकले देखाएको छ।

माधवको पार्टीका १८ जना उम्मेदवारले ल्याएको कूल मत चार लाख सात हजार ४६८ छ। कलमका उम्मेदवार भएको ठाउँमा समानुपातिक तर्फ कलमले पाएको कूल मत ६४ हजार २८२ छ।

कतिपय क्षेत्रमा माधवका पार्टीका उम्मेदवारले १० हजार मत पनि पाएका छैनन्। १० हजार भन्दा कम मत ल्याएर हार्ने उम्मेदवारमा काठमाडौं ८ बाट उठ्नु भएका पूर्वमन्त्री जीवनराम श्रेष्ठ, ललितपुर २ का कृष्णलाल महर्जन र कास्की २ का श्रीनाथ बराल हुनुहुन्छ।

सनराइज खबर