कांग्रेसले गर्यो गणेश लामासहितका यी तीन जना नेतामाथि कारबाही

काठमाडौं। नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांगे्रसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा सहभागी नजनाई पार्टीप्रति गैरजिम्मेवार बन्दै आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँड्दै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ।

केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको तथा यसपटक सूर्यमा मतदान गर्नु अर्कोपटक आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ।

प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिकोे जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाईसमेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भनी उजुरी परेको छ।

बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांगे्रसले निर्देशन दिने निर्णयसमेत गरेको लामाले जनाएका छन्।रासस