कांग्रेस संसदीय दलको चुनावका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको भोलि बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे नेतृत्वको निर्वाचन समितिले तयार पारेको निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेतामा दाबी गर्ने उम्मेदवारले आज मंगलबार दिउँसो २ देखि ३ बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।उम्मेदवार बन्न ५१ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न आधा दर्जन नेताहरुले आकांक्षा देखाएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडेललगायतले संसदीय दलको नेता बन्ने आकांक्षा देखाएका छन् । तर, मूख्य प्रतिष्पर्धा भने देउवा र संस्थापन ईतर पक्षका बीच हुने सम्भावना छ ।

संस्थापन ईतरबाट कोइराला र थापा मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना रहेको छ ।संसदीय दलको नेता चयनको लागि बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुँदैछ ।