सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई पुष १० सम्ममा सपथ खुवाउने तयारी

काठमाडौं। ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूलाई १० पुससम्म सपथ खुवाउने तयारीमा सुदूरपश्चिम प्रदेशसभा सचिवालय जुटेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ।
२ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुखलाई बुझाएको हो । आयोगले बुझाएको सूची प्राप्त भएको २० दिनभित्र प्रदेशसभा सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गरिसक्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए।

संविधानको धारा १७९ बमोजिम प्रदेशसभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नु पर्ने प्रावधान रहेको छ । प्रदेश प्रमुख समक्ष सपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने र ती जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने प्रावधान छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यको पहिचान भइसकेकाले १० पुसभित्रै सपथका लागि तयारी थालिएको बताए ।

उनका अनुसार अछाम-२ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य रहेका छन् । उनी ६८ वर्षका भए । ‘निर्वाचन आयोगले बुझाएको सूचीअनुसार अछाम–२ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलज्यू सबैभन्दा जेष्ठ सदस्य रहेका छन्,’ सूचना अधिकारी जैशीले भने, ‘त्यसैले उहाँलाई नै प्रदेश प्रमुखज्यू समक्ष पहिलो सपथका लागि आह्वान गर्ने र प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि आह्वान गर्ने तयारी गरिएको छ।

प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयको समन्वयमा प्रदेशसभा बैठक बोलाएर पनि निर्वाचित प्रदेशसभा सदस्यको सपथ गराउन सकिनेछ, भने सपथ पछि प्रदेश सभा बैठक पनि बस्न सक्ने छ।

प्रदेश सभामा निर्वाचित सदस्यमध्ये रावल पछि बैतडी प्रदेश सभा क्षेत्र ‘ख’ बाट निर्वाचित शिवराज भट्टको उमेर सबैभन्दा बढी छ । उनको उम्मेर ६५ बर्ष रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको पहिलो बैठक २२ पुसभित्रै बसिसक्नु पर्नेछ । त्यसका लागि पहिलो बैठक र दोश्रो बैठक जेष्ठ सदस्यले सञ्चालन गर्न सक्ने छन् । निर्वाचित प्रदेशसभा सदस्यको दोश्रो प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाउने छ ।

तयारी अवस्थामा प्रदेश सभा कक्ष
प्रदेश सभाको दोस्रो कार्यकालका लागि बैठक सञ्चालन गर्न प्रदेशसभा भवनको बैठक कक्ष तयार पारिएको छ । भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइक पुनः जडान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

प्रदेश सभामा हरेक सदस्यका लागि यस पटक छुट्टाछुट्टै टेबुलको व्यवस्था गरिएको छ । बैठक कक्ष बाहिर पनि सरसफाई र आवश्यक रङरोगन गर्ने काम सकिएको सूचना अधिकारी जैशीले बताए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी) को संसद् सहयोगसहित २० लाख बजेटमा प्रदेशसभा बैठक कक्षमा आवश्यक संरचना थप गरिएका उनले बताए।
४ मंसिरको निर्वाचनबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी १९ सदस्यसहित कांग्रेस पहिलो दल बनेको छ।

त्यसैगरी आठ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्यसहित माओवादी केन्द्र दोश्रो दल बनेको छ।

तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्यसहित एमाले तेश्रो दल बन्दा पाँच प्रत्यक्ष र दुई समानुपातिक गरी सात सदस्यसहित नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको छ। तीन प्रत्यक्ष र एक समानुपातिक गरी चार सिट पाएको एकीकृत समाजवादी पाँचौँ तथा समानुपातिकबाट एक सिट पाएको राप्रपा छैठौं दल बनेको छ। प्रदेश सभामा एक जना स्वतन्त्र सदस्यको प्रतिनिधित्व रहने छ ।

०७४ सालको निर्वाचनमा एक एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन्।

संसदीय समितिका कार्यालयमा दललाई राख्ने तयारी
धनगढी उपमहानगरपालिकाले सडक फराकिलो बनाउन थालेपछि प्रदेशसभा भवनको केही भाग भत्केको छ। प्रदेशसभा भवन भत्किँदा त्यहाँ रहेका राजनीतिक दलका संसदीय कार्यालय समेत विस्थापित भएका छन्।

प्रदेशसभाको बैठक सुचारु गर्ने अन्तिम तयारी भइरहेका वेला भवनसँगै संसदीय दलको कार्यालय समेत विस्थापित भएपछि तत्कालका लागि दलहरूलाई प्रदेशसभा समितिका लागि तयार गरिएका कक्ष उपलब्ध गराउने तयारी गरिएको छ।

अहिले प्रदेशसभाले समिति गठन गरेको छैन,सूचना अधिकारी जैशीले भने,समिति गठन नहुँदासम्मलाई ती कार्यालयमा दलको संसदीय कार्यालय राख्ने तयारी गरेका छौं, समिति बनेपछि दललाई अन्यत्र व्यवस्थापन गरिने छ।

सुदूरपश्चिम प्रदेशसभामा हाल कार्य व्यवस्था परामर्स समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समिति रहेका छन्।