सत्ताकै कारण टुटेको ओली र दाहालको सम्बन्ध सत्ताले नै जोडिदियो

फाइल तस्वीर

काठमाडौं । झण्डै दुई वर्षसम्म पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नाटकीय रुपमा सरकार साझेदार बन्नुभएको छ । सत्ताकै छिनाझप्टीका कारण देउवासँग बिच्किएका दाहाल सत्ता नेतृत्वकै विवादले टुंगिएको ओलीसंगको सम्बन्ध सत्ताकै रसायनले फेरि जोडेको छ । बाध्यता र संशयको यो सहयात्रा कहाँसम्म पुग्छ त्यो भने हेर्न बाँकी छ ।

एमाले अध्यक्ष ओलीको सेखी झार्न बनेको पाँच दलीय गठबन्धन १५ वर्षसम्म जाने घोषणा ती दलका नेताले गर्दै आएका थिए । एमालेको काँधमा तेस्रो दलको हैसियतमा तेस्रैपल्ट मुलुकको कार्यकारी बन्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २४ घण्टाअघि हियाउँदै ओलीले दाहालको प्रधानमन्त्री हुने अवसर गुमेको दावी गर्दै मुलुक मध्यावधी निर्वाचनको बाटोमा जाने संकेत गर्नुभएको थियो ।

तर घटनाक्रम यसरी विकसित भयो कि आफूले बालकोटको बार्दलीमा ओलीलाई सीमित गरेको बताउने दाहाल त्यही बार्दलीमा पुगेर ओलीसँग सत्तायात्राको छाँद हाल्न पुग्नुभयो । स्थानीय निकायदेखि तीनै तहका चुनाव एमालेलाई भित्तामा पुर्‍याउने रणनीति अन्तर्गत पाँच गठबन्धन दलले चाल चलेका थिए ।

गठबन्धन दलको यही परिणामले पाँच वर्षअघि संघ, प्रदेश र स्थानीय तीनै तहमा पहिलो पार्टी रहेको एमाले यसपालि दोस्रो दल बन्न पुग्यो । २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादीसमेत यसपाली कांग्रेसलगायत दलको साथ पाउँदा पनि खुम्चिन पुग्यो । पार्टी विभाजनपछि ओली र दाहालबीच संवादहीनता थियो । उहाँहरु सार्वजनिक मञ्चमै एकअर्काविरुद्ध कटाक्ष गर्नुहुन्थ्यो । चुनावले दुवै दललाई औसतमा राखिदिएपछि ओलीले संवादको ढोका खोल्नुभएको थियो ।

ओली–दाहाल पुनर्मिलन दाहालको प्रधानमन्त्री बन्नैपर्ने आकांक्षा र कांग्रेस सभापति देउवाको नछाड्ने अडानका कारण सम्भव भएको हो  । सरकारको नेतृत्व पहिले आफूले पाउनुपर्ने दाहालको दाबी रहे पनि देउवा त्यसमा तयार हुनुभएन । जसका कारण पाँच दलीय गठबन्धनबाट माओवादी बाहिरिएको छ  । कांग्रेस नेतृत्वको गठबन्धनका कुनै दलले अहिलेसम्म दाहाल नेतृत्व सरकारको समर्थनमा मुख खोलेका छैनन् ।

२०७४ सालमा चुनावमा दुवै दलले गठबन्धन बनाएर केन्द्रमा करिब दुई तिहाइ बहुमतको सरकार बनाएका थिए । ६ प्रदेशमा उनीहरूकै सरकार बनेको थियो । पार्टी एकतापछि ओली र दाहाल दुवै पार्टी अध्यक्ष बन्नुभएको थियो । पछि शक्ति बाँडफाँटको विषयले ओली र दाहालबीच विवाद सिर्जना भएको थियो ।

एमाले र माओवादीबीच एकता हुनु एकदिनअघिसत्ता नेतृत्व आधा–आधा गर्न भएको सहमति ओलीले पालना नगरेको विषयले सम्बन्ध दुई किनार बनेको थियो । ओली र माधवकुमार नेपालको द्वन्द्वले पनि ओली–दाहाल विवादलाई चर्काएको थियो । त्यसपछि विकसित घटनाक्रमले एमालेसमेत फुट्यो र नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भयो ।

समयक्रमले राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश प्रमुख, प्रतिनिधिसभा तथा प्रदेशसभामा सभामुख र उपसभामुख पनि उनीहरूकै गठबन्धनबाट चुनिन्छन । संवैधानिक पदाधिकारीदेखि राजदूत नियुक्तिसम्मका शक्ति–अभ्यासको अवसर पनि एमालेलाई आएको छ । माओवादीले कांग्रेस नेतृत्व गठबन्धनको सहकार्यमा सरकार निर्माण गरेको भए एमाले यी सबै अवसरबाट वञ्चित रहन्थ्यो । ठूलाले अहंकार प्रदर्शन नगर्ने र सानालाई पनि हीनताबोध नहुने गरी अघि