राहदानी वितरण सहज बनाउन गृहले खटायो विज्ञको टोली

काठमाडौं। गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली खटाएको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको हो। चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।

राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए।

‘तीन दिन भयो विज्ञको टोली खटिएको, समस्या के हो पहिचान गरी आफैंले सक्ने भए समाधान पनि गर्ने र नभए सहयोग माग्ने गरी खटाइएको छ,’ उनले भने।

गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो।

उक्त निर्णय गरेपछि गृह मन्त्री रवि लामिछाने राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए।