सुदूरपश्मिमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जिवस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो।

नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने उहाँको भनाई छ। सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीसँग सात जना सांसद छन्।

सत्ता साझेदार दलहरूबीच नेकपा एमालेलाई सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व दिने सहमति भएको थियो । एमालेले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो।