कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गराउनु भएको थियो ।

गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री शर्माका पक्षमा कर्णाली प्रदेशका ४० मध्ये माओवादीसहित चार दलका २५ जना सांसद छन् ।

प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसका १४ र एक जना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि कर्णाली प्रदेशमा सरकार विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।